कृषकको आर्थीक अवस्था सुधार्ने नीति बनाएर काम गर्नुस् : उपप्रधानमन्त्री सिंह काठमाडौं :
उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले किसानहरूलाई ध्यानमा राखेर काम गर्न कृषि विकास बैंकलाई सुझाव दिएका छन्।
नेपाल वित्तीय संस्था कर्मचारी संघ कृषि विकास बैंकको स्मारिका शुक्रबार विमोचन गर्दै उन नेपालका लागि कृषिको महत्व धेरै नै रहेको बताए।
किसानको आर्थिक अवस्था सुधार्न आवश्यक नीति ल्याउनुपर्ने पनि उनले बताए।
‘कृषि नेपालका लागि कति महत्वपूर्ण छ भन्ने कुरा त सबैले थाहा पाएकै विषय हो। नेपाललाई कृषि प्रधान देश भनेर हामी भन्छौं। कृषि प्रधान देशमा किसानहरूको वित्तीय अवस्था सुधार गर्नमा कृषि विकास बैंकले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आइरहेको कुरा देशव्यापी रुपमा सबैलाई थाहा भएकै कुरा हो’, उनले भने।
खुला अर्थतन्त्रको नीति अगाडी बढेपछि थुप्रै निजी बैंहरू सञ्चालनमा रहेको पनि उनले बताए।
समयको मागलाई बुझेर त्यसमा प्रतिस्पर्धा गर्न सक्ने गरेर कृषकहरूलाई ध्यानमा राखेर कृषि विकास बैंकले आफूलाई अगाडी बढाउनुपर्ने पनि उनको भनाइ छ।
सेवाग्राहीहरूलाई सहज रुपमा सेवा प्रदान गर्न उनले कृषि विकास बैंकलाई आग्रह पनि गरेका छन्।
आर्थिक रूपमा अहिले देखिएको असहज अवस्था फुकाउन कस्तो नीति लिएर अघि बढ्नुपर्छ सोही अनुसारको नीति बनाएर काम गर्न पनि बैंक व्यवस्थापनलाई उनको आग्रह थियो।