लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुटवल–गोरुसिंगे–चन्द्रौटा चारलेन सडक विस्तार गर्दा नागरिकलाई सास्ती नहुनेगरी अघि बढाउन निर्देशन दिएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय देउखुरीमा विश्व बैंकका सिनियर ट्रान्सपाेर्ट विज्ञ आमले राजापाक्षेकाे नेतृत्वमा रहेकाे प्रतिनिधिमण्डल सँगको भेटमा मुख्यमन्त्री आचार्यले सडकको दुवै किनारको काम सकेर मात्रै कालोपत्रे उप्काएर काम अघि बढाउन निर्देशन दिएका हुन्।
‘बुटवल नारायणघाट सडक विस्तार गर्दा जुन समस्या भोग्नुपर्यो, त्यो समस्या यता भोग्नु नपरोस्। काम गर्दा जनतालाई सास्ती होइन, सुविधा कसरी दिन सकिन्छ भन्नेमा ध्यान दिन जरुरी छ,’ उनले भने।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत रुपन्देहीको बुटवलदेखि कपिलवस्तुको चन्द्रौटासम्मको ६९ किलोमिटर बुटवल–गोरुसिंगे–चन्द्रौटा सडकखण्ड ३४ अर्ब रुपैयाँ लगानीमा विस्तार हुँदैछ। हाल २ लेनको सडक ४ लेनको बनेपछि एक सय किलोमिटर प्रतिघण्टाको गतिमा सवारीसाधन गुड्न सक्ने छन्। आधुनिक र वातावरणमैत्री रुपमा निर्माण हुने सडक बुटवलबाट चन्द्रौटा हुँदै नेपाल–भारत कृष्णनगर भन्सार र लुम्बिनी प्रदेशको राजधानी दाङ देउखुरीसँग जोडिन्छ।
राजधानी क्षेत्रमा सहज पहुँच स्थापित गर्ने यो सडकको १० किलोमिटरको कोरिडोरलाई हरित क्षेत्रको रूपमा विकास गर्ने योजना प्रस्ताव अघि बढाएको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले जानकारी दिए।
बन्न थालेको फोरलेन सडकको दुवै किनारलाई हरियाली क्षेत्रको रुपमा विकास गर्नेगरी उच्च प्राथमिकतामा राखेर कार्यक्रम प्रस्ताव गरिएको छ।
मुख्यमन्त्री आचार्यले समस्या भएका क्षेत्रहरूको पहिचान गरेर भू–क्षय नियन्त्रण देखि पर्यटन विकाससंग जोडिएका क्षेत्रमा पनि लगानी गर्न आग्रह गरे। जोखिम क्षेत्रहरूको पहिचान गरेर त्यस क्षेत्रको संरक्षण र विकास दुवै गर्नेगरी अघि बढ्न मुख्यमन्त्री आचार्यले आग्रह गरे।
सडक विस्तारमा विश्व बैंकले २७ करोड ५० लाख अमेरिकी डलर उपलब्ध गराउने छ। सडक निर्माणको भौतिक काम २०२३ नोभेम्बरमा सुरू भएर २०२६ नोभेम्बरमा सक्ने लक्ष्य छ। पहिलो चरणमा बुटवलदेखि कपिलवस्तुको गोरुसिंगेसम्मको ५० किलोमिटरमा काम हुनेछ।