पूर्वसभाामुख दमननाथ ढुंगानाको निधन भएको छ।
काठमाडौंको पुरानो बानेश्वरस्थित फ्रन्टलाइन अस्पतालमा उपचारका क्रममा आइतबार दिउँसो २ बजे ढुंगानाको निधन भएको उनका आफन्त सुरज भट्टराईले सेतोपाटीलाई जानकारी दिए।
उनकाअनुसार ढुंगाना एक महिनादेखि बिरामी भएर उपचाररत थिए।
उनले २०४८ को आमनिर्वाचन काठमाडौं क्षेत्र नम्बर २ बाट जितेका थिए। त्यसपछि उनी सभामुख भएका थिए। ढुंगाना २०४८ असार ९ गते सभामुख बनेका थिए।
उनी २०७४ को आमनिर्वाचनमा भक्तपुर क्षेत्र नम्बर २ बाट कांग्रेसको उम्मेदवार भई पराजित भएका थिए।
प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वसभामुख ढुंगानाको निधनको खबरले आफूलाई दुखी बनाएको बताएका छन्।
‘२०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएपछि निर्वाचित पहिलो प्रतिनिधिसभाका सभामुख, मेरा मित्र दमननाथ ढुङ्गानाको निधनको खबरले अत्यन्त दुःखी छु,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘नेपालमा मानव अधिकार रक्षाको आन्दोलन र संसदीय अभ्यासको प्रवर्द्धनमा उहाँको योगदान सम्झिरहेको छु।’