परराष्ट्र मन्त्री आरजु राणा देउवाले नेपालमा लैङ्गिक समानता र महिला सशक्तीकरणका क्षेत्रमा गएका तीन दशकयता धेरै नै उपलब्धि भए पनि चुनौतीहरू पनि रहेका उल्लेख गरेकी छन्।
युएन वुमनद्वारा सोमबार काठमाडौंमा आयोजित बेइजिङ प्लस तीसको सिभिल सोसाइटी रिपोर्ट सार्वजनिक गर्दै मन्त्री राणाले ३० वर्षअघि बेइजिङमा सम्पन्न विश्वका नेताहरूको सम्मेलनपछि नेपालमा पनि महिला अधिकार, लैंगिक समानता तथा महिला सशक्तीकरणका क्षेत्रमा धेरै काम भएका बताइन्।
‘मलाई लाग्छ नेपालका महिलाहरूले अहिले प्राप्त गरेका संवैधानिक लगायतका अधिकारहरूको बिजारोपण ३० बर्षअघिको बेइजिङ सम्मेलनमा भएको हो। सो चौथो विश्व महिला सम्मेलनले लैंगिक समानता, महिला सशक्तीकरण, महिला विरुद्धका हिंसाको उन्मूलन लगायतका १२ ओटा क्षेत्रका प्रतिबद्धता अघि सारेको थियो,’ उनले भनिन्।
सो बेइजिङ सम्मेलनमा आफ्नो सक्रिय सहभागिता रहेको स्मरण गर्दै त्यसयता नेपालका महिलाहरूले अघि बढाएको अभियानले देशमा महिलाका क्षेत्रमा धेरै काम भएका तथा प्रजनन् स्वास्थ्यदेखि धेरै अधिकारहरू महिलाले संवैधानिक रुपमै प्राप्त गरेका उनले बताइन्।
सो सम्मेलनपछिका ३० वर्षमा महिला अधिकार र लैंगिक समानताका क्षेत्रमा उल्लेखनीय प्रगति भए पनि अझै धेरै काम गर्न भने बाँकी रहेको उनको भनाइ छ।
‘महिला र यहाँका बालिकाहरूले आर्थिक सहभागिता, शिक्षा, स्वास्थ्य, रोजगारी, न्यायमा समान पहुँच आदि क्षेत्रमा अहिले पनि चुनौतीहरूको सामना गर्नु परिरहेको छ। यसबारेमा पनि सोच्नुपर्छ र तिनको समाधानका लागि सरकार र नागरिक समाज एकताबद्ध भइ अघि बढ्नुपर्छ,’ उनले भनिन्।
मन्त्री राणाले बालिकाहरूको विद्यालय भर्ना, श्रम बजारमा महिलाको सहभागिता, मातृ स्वास्थ्य, बालबिवाहमा न्यूनिकरण एवं सम्पत्तिमा महिला अधिकारलगायत क्षेत्रका सूचकांकमा नेपालले प्रगति गरेको उल्लेख गरेकी छन्।
उनले नीतिहरू लैंगिक दृष्टिकोणलाई मूलप्रवाहीकरण गर्नुका साथै सीमान्तकृत समुदायका महिला, आदिवासी, दलित र अपाङ्गता भएकाहरू प्रति केन्द्रित रहेको बताइन्।
मन्त्री राणाले संवैधानिक र कानुनी प्रत्याभूतिका कारण नेपालमा पनि राजनीतिमा महिला सहभागिता बढ्दै गएको स्पष्ट गर्दै तर पनि महिलामाथि हुने गरेका विभेद र डिजिटल युगमा बढ्दो भ्रमपूर्ण सूचनाले महिलालाई बढी तारो बनाउने गरेको आफूले पाएको बताइन्।
‘महिला सशक्तीकरणका लागि हामीले बाटो बनाएका छौँ। हामीले दिशा पनि निर्धारण गरेका छौँ। हामीले कामका लागि गति सिर्जना गरेका छौँं। तर पनि कहिलेकाहीँ यो बाटोबाट पछाडि धकेल्ने प्रयास हुने भएकाले प्राप्त गरेका उपलब्धिहरूको रक्षागर्दै थप उपलब्धिका लागि अझ अघि बढ्दै जानुपर्छ,’ उनले भनिन्।