कोशी प्रदेशका एमाले सांसद लिलाबल्लभ अधिकारीसहित ७ जनामाथि मानव बेचबिखन तथा ओसारपसार कसुरमा अनुसन्धान सुरू भएको छ।
आइतबार विराटनगरबाट अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। यसअघि ६ जनालाई प्रहरीले हिरासतमै राखेर अनुसन्धान गरिरहेको थियो।
यसअघि प्रहरीले लिखत सम्बन्धी कसुरमा मात्रै अनुसन्धान अघि बढाएको थियो। आइतबारदेखि भने परिसरले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ को दफा ४को उपदफा २ को (ग) अनुसार पनि अनुसन्धान अघि बढाएको हो।
जापानमा हुने इन्टरनेशनल कन्फ्रेन्स अन ओपन एक्सेस ठू कल्चर २०२४ को सात दिने कार्यक्रममा सहभागी हुन कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहेका अधिकारीसहित तीन जना कात्तिक ११ गते जापानका लागि उडेका थिए।
उनीहरूले मन्त्रालयको नाममा जारी भएका नक्कली कर्मचारी परिचय पत्र बनाएर जापानको भिसा समेत लगाएका थिए। कात्तिक ११ गते काठमाडौंबाट गएका जनक राई, दावा शेर्पा, कञ्चन देवकोटा र लिलाबल्लभ अधिकारीलाई कात्तिक १४ गते काठमाडौं फिर्ता गरिएको थियो।
काठमाडौं फिर्ता भएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको थियो। अनुसन्धानकै क्रममा प्रहरीले महेश पाण्डे, जुगल रिजाल र विरबहादुर सुनुवारलाई पक्राउ गरेको थियो। जापानबाट फर्किएकाहरूले महेश पाण्डेलाई १० देखि १३ लाखसम्म रकम बुझाएको बयान समेत दिएका थिए। आइतबार प्रहरीले पूर्व मन्त्री रहेका अधिकारीलाई दुई दिन हिरासतमा राख्न अनुमति लिएको छ।