राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सहमहामन्त्री सुमना श्रेष्ठले पार्टी केन्द्रीय कार्यालय च:मतिमा धर्ना राखिएकोप्रति असन्तुष्टि जनाएको खुलेको छ।
शनिबार च:मतिमा केन्द्रीय समिति बैठक चलिरहँदा कार्यालयभित्रै शम्भु सुस्केरालगायत पाँच जना धर्ना बसेका थिए। उनीहरूले आफ्नै नेताहरूलाई 'कि संकटमा पार्टी सम्हाल कि ठाउँ छोड' भनेर धर्ना गरेका थिए।
केन्द्रीय समिति बैठक सकिएपछि धर्नाबारे रास्वपा केन्द्रीय सदस्यहरूबीच आन्तरिक छलफल भएको पाइएको छ। खासगरी पार्टी कार्यालयमा धर्ना राखिएकोप्रति केन्द्रित रहेर उनीहरूले कुराकानी गरेका थिए।
पार्टीका केन्द्रीय सदस्यहरू सम्मिलित एक ग्रुपमा प्रतिनिधि सभा सांसदसमेत रहेकी श्रेष्ठले कसले धर्ना गराएको हो पछि खुल्दै जाने बताएकी हुन्।
‘पहिलो पटक हाम्रो पार्टीमा भएको आन्दोलन समानुपातिकका बेला थियो, त्यो आन्दोलनका बारेमा कोशीका महामन्त्री लालबहाजुरजीले भनिसक्नुभयो। त्यो मुकुल ढकालबाट संयोजन भएको थियो, आज पनि आन्दोलन भयो, आजको आन्दोलन कसले गराएको हो? केही दिन/महिनापछि थाहा पाइन्छ नै कसले गराएको,’ सुमनाले उक्त ग्रुपमा भनेका कुरा उद्धृत गर्दै स्रोतले भन्यो।
उनले जुन प्रकारले संस्थामाथि व्यक्ति हाबी छ भनेर जताउन खोजिएको छ त्यो स्वीकार्य नभएको बताइन्।
‘व्यक्ति जोगाउने भन्दै संस्थालाई कमजोर बनाउँदा व्यक्ति जोगिँदैन र संस्था पनि रहँदैन,’ उनले भनेकी छन्, ‘हाम्रो मूल्यप्रणाली नै यसले प्रहार गरेर झन् कमजोर बनायो। अहिले सबै एकठाउँमा उभिने समय हो। जनताले रास्वपामाथि ठूलो आशा गरेको छ। हामी रहुँला नरहुँला तर यो पार्टी, यो अभियान भविष्यका लागि पनि रहनुपर्छ।’
रास्वपा सभापति रवि लामिछाने सहकारी ठगी र संगठित अपराध कसुरमा कात्तिक २ गते पक्राउ परेका थिए। कास्की अदालतबाट पटक-पटक म्याद थप गरी उनीमाथि अनुसन्धान भइरहेको छ।
यो पनि: मनिष झालाई प्रश्न– कस्तो हुन्छ दोस्रो चरणको आन्दोलन?