उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंह इजिप्टको कायरो प्रस्थान गरेका छन्। वर्ल्ड अर्बान फोरमको कार्यक्रममा सहभागी हुन नेपाली प्रतिनिधि मण्डलका नेतृत्व गर्दै उपप्रधानमन्त्री सिंह आइतबार बिहान ८ बजे कायरो प्रस्थान गरेका हुन्।
उपप्रधानमन्त्री सिंहलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा विदाइ गरे।
विश्वका १५० भन्दा बढी देशको सहभागिता रहने कार्यक्रममा सहभागी हुने सिंह उच्च पदाधिकारी हुन्। अन्य देशबाट शहरी विकाससंग सम्बन्धित मन्त्रीहरू सहभागी हुनेछन् भने नेपालबाट उपप्रधानमन्त्रीसमेत रहेका सिंहको उपस्थिति रहनेछ ।
शहरी विकासकाबारे विश्व सम्मेलनमा उपप्रधानमन्त्री सिंहले ३ वटा सत्रलाई सम्बोधन गर्नेछन्। त्यसक्रममा उनले नेपालले वस्ती विकासका क्रममना भोगेका समस्या र हासिल गरेको उपलब्धी तथा जलवायु परिवर्तनका कारण भोगिरहेको समस्या र विकासमा नेपालले हासिल गरेको उपलब्धिबारे संसारको ध्यानाकर्षण गराउनेछन्।
नेपालमा जलवायु परिवर्तनको असर धेरै देखिएकाले भविष्यमा जलवायु परिवर्तनले पनि असर नगर्ने गरी कसरी शहरीकरण र वस्ती विकास गर्न सकिन्छ भन्ने विषयलाई उपप्रधानमन्त्री सिंहले प्रमुख एजेन्डा बनाउनेछन्।
त्यस्तै शहरीकरणका लागि चुनौती बनिरहेको खानेपानी, सरसफाइ र शहरी पूर्वाधार व्यवस्थापनको विषयलाई पनि नेपालले प्राथमिकताका साथ उठाउने तयारी रहेको उपप्रधानमन्त्री सिंहको सचिवालयले जनाएको छ।
नोभेम्बर ४ देखि ८ तारिखसम्म कायरोमा वर्ल्ड अर्बान फोरमको कार्यक्रम हुँदैछ । वर्ल्ड अर्बान फोरम शहरी विकासको क्षेत्रमा महत्वपूर्ण मानिन्छ।
उपप्रधानमन्त्री सिंहसँगै पत्नी सिर्जना सिंह, शहरी विकास मन्त्रालयका अधिकारीहरू कायरो प्रस्थान गरेका छन्। सिंह कार्यक्रममा सहभागी भएर शनिबार विहान साढे १० बजे स्वदेश फर्कनेछन्।