प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी बचत ठगी गर्नेहरूलाई कारबाही सुरू गरिएको बताएका छन्।
सरकार गठन भएको १०० दिन पुगेका अवसरमा बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारी ठगीमा हालसम्म ६ सय जनाभन्दा बढीलाई कारबाही गरिसकिएको बताएका हुन्।
‘हालसम्म ६ सय जनाभन्दा धेरैलाई कानुनी कारबाही गरिएको छ, पाँच सय ७५ जनाभन्दा बढी त जेलमै छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘सहकारी ठगहरूलाई कारबाही गर्नमात्र होइन बचतकर्ताहरूको बचत फिर्ता गर्न आवश्यक ऐन तर्जुमा गरिएको छ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रणको विषय एकछिन गरिने हल्ला र सुटिङजस्तो नरहेको पनि बताए। भ्रष्टाचार नियन्त्रणमा सरकारले क्यामेरालाई नभई कानुनलाई गुरू मानेको पनि उनले बताए।
प्रधानमन्त्री ओलीले जुनसुकै कालखण्डमा भएका भए पनि भ्रष्टाचारमाथि कारबाही हुने बताए।
‘भ्रष्टाचारका कसुरमा फस्ने त्रास र त्यसबाट उम्किने आकांक्षा, भ्रष्ट र भ्रष्टाचारका मतियार जोगाउने उद्देश्यका साथ देशमा अस्थिरता र अराजकता फैलाउन खोज्ने तत्वहरू सक्रिय रहेको हामीले देखिरहेका छौं,’ उनले भने।