उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले सहरी विकास क्षेत्रमा काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिएको बताएका छन्।
मन्त्रालय सम्हालेपछि अहिलेसम्मका कामकारबाहीबारे जानकारी दिन आइतबार मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री सिंहले नीति निर्माणका लागि मन्त्रालय गम्भीर भएर लागेको बताएका हुन्।
सहरी विकास मन्त्रालयले सय दिनमा कुनै पनि उल्लेखनीय काम गर्न नसक्ने भन्दै सुरू भएका कामलाई सम्पन्न गर्नेतर्फ मन्त्रालय अग्रसर रहेको उनले बताए।
‘अहिले के गरे यिनीहरूले भन्न सक्छन्, तर रिजल्ट देख्नलाई पनि त समय त लाग्दो रहेछ,’ उनले भने, ‘यो सय दिनमा हामीले त्यस्तो उल्लेखनीय काम नगरेकै हो भनेर म यहाँ भन्न चाहन्छु तर कुरा के हो भने मन्त्रालयलाई अझ व्यवस्थित गर्नको लागि हामीले शहरहरु व्यवस्थित गर्नको लागि, क्लाइमेटको अहिले त्यत्रो सनसनी भइरहेको छ। यो सहरहरुलाई सेफ गर्नको लागि गर्नुपर्ने काम त्यसको लागि पोलिसीमा जोड दिएर हामी अघि बढ्नुपर्छ भन्नेकुरामा काम गरिरहेका छौँ।’
धरहरा केही समयको लागि निःशुल्क खुलाइएको पनि उनले बताए। ‘मन्त्रालयबाट गर्नुपर्ने नीतिगत कुराहरूमा पनि हामी गम्भीर भएर लागेका छौँ। काम गर्ने वातावरण बनाउन नयाँ नीति र ऐनहरू ल्याउन जोड दिइरहेका छौं,’ उनले भने।
१०० दिनमा २६ प्रशासनिक भवन र ४० वटा झोलुङ्गे पुल निर्माण
सहरी विकास मन्त्रालयले सय दिनमा स्थानीय तहका २६ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गरेको जनाएको छ।
सय दिनभित्र २५ वटा प्रशासकीय भवन निर्माण सम्पन्न गर्ने लक्ष्य लिएकोमा २६ वटा सम्पन्न गरेको मन्त्रालयका सचिव मणिराम गेलालले बताए।
सय दिनको अवधिमा ५० वटा झोलुंगे पुल निर्माण गर्ने लक्ष्य लिएकोमा ४० वटा सम्पन्न गरेको उनको भनाइ छ।
विपद्का कारण बाँकी १० वटा थप्नलाई कठिनाइ भएको उनले बताए।
प्राकृतिक विपद्को समयमा समुदायलाई आश्रयस्थल उपलब्ध गराउन चार वटा आपत्कालीन केन्द्र बनाउने निर्णय भएको उनको भनाइ छ।
(न्युज एजेन्सी नेपाल)