नेपाल कम्युनिष्ट पार्टी (बहुमत) दाङले विभिन्न आरोप खेपेका लुम्बिनी प्रदेशका दुई सांसदलाई कानुनी कारबाहीको माग गर्दै चरणबद्ध आन्दोलन गर्दै आएको छ।
नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्दै बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सरकारका वन तथा वातावरण मन्त्री बादसाह कुर्मी र रुकुम पूर्वका डिबी भनिने धनबहादुर केसीलाई कानुनी कारबाही गर्न मागसहित चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरिएको उक्त पार्टीका जिल्ला सेक्रेटरी अमर खड्काले बताए।
सोमबार बिहान घोराहीमा पत्रकार सम्मेलन गरि नेकपा (बहुमत)का नेताहरुले लुम्बिनीका वन मन्त्री कुर्मी र रुकुम पूर्वका प्रदेश सांसद केसीलाई कानुनी कारबाही गरि पदबाट हटाउन माग गरेका थिए ।
नेकपा (बहुमत)का नेताहरूले आइतबार मात्रै लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई त्यससम्बन्धी ज्ञापन पत्र बुझाएका थिए। पार्टीका जिल्ला इञ्चार्ज तिलकको हस्ताक्षर सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरूले कुर्मी र केसीलाई उनीहरूको कसुर अनुरुप सांसद पदमा रहिरहन कानुन बिपरित रहेको हुँदा तत्काल सांसद पदबाट हटाउन माग गरेका थिए। ज्ञापन पत्र बुझाउनु भन्दा पहिले उनीहरूले प्रदर्शनसमेत गरेका थिए।
त्यस्तै, उनीहरूले मंगलबार लुम्बिनीका सबै प्रमुख जिल्ला अधिकारीहरूलाई सोही ब्यहोराको ज्ञापन पत्र बुझाउने बताएका छन्। त्यतिगर्दा पनि आरोपित व्यक्तिहरूमाथि कारबाही नभए भदौ २० गते पछि सरकारी गाडी चल्न नदिने लगायका थप आन्दोलनका कार्यक्रमहरू गर्ने जिल्ला सेक्रेटरी अमर खड्काले बताए।
मन्त्री कुर्मीमाथि बाँकेकी निर्मला कुर्मीलाई अपहरण तथा बन्धक बनाइ बेपत्ता पारेको गम्भीर आरोप छ। जसको विरोधमा बाँकेदेखि काठमाडौंसम्म पुगेर महिला अधिकारकर्मीहरू चरणबद्ध आन्दोलन गर्दै आइरहेका छन्।
त्यस्तै सांसद केसीमाथि किर्ते गरेको अभियोग छ। २०४८ साल असार ६ गते तत्कालीन जिल्ला न्यायाधीश बमकुमार श्रेष्ठको इजलासले किर्ते मुद्दामा दोषी ठहर गर्दै एक वर्ष कैद र दुई हजार जरिवानाको फैसला सुनाएको थियो।
श्रीमतीसँगको अंश मुद्दामा प्रदेश सांसद केसीले किर्ते गरेको अभियोगमा ३२ वर्ष पहिले अदालतले उनलाई त्यस्तो फैसला सुनाएपछि उनी फरारको सूचिमा रहँदै आएका छन्।