नेपाली कांग्रेसको आइतबार अपराह्न सानेपामा बस्ने केन्द्रीय कार्यसमिति बैठकले गत फागुनमा महासमिति बैठकले सर्वसम्मतिले पारित गरेका प्रस्तावहरू 'भाषा मिलाएर' अनुमोदन गर्ने भएको छ।
गत फागुन १० गते गोदावरीमा सकिएको महासमिति बैठकले महासमिति सदस्यहरूका सुझाव समेटेर केन्द्रीय समितिबाट प्रस्तावहरू अनुमोदन गर्ने निर्णय गरेको थियो।
महासमितिमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव पेस गरेर समूहगत रूपमा छलफल भएको थियो।
महासमिति बैठक हुँदा पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको गठबन्धन सरकारमा कांग्रेस थियो। त्यसबेला माओवादीको आलोचना गरिएको उपसभापति खड्काको नीतिका कतिपय विषय हटाइएका थिए। महासमितिमा पेस गरिएका विषयमा त्यसबेला प्रचण्डले पनि 'आपत्ति' जनाएका थिए। उनले त्यसबेला कांग्रेससँग गठबन्धन तोड्नुमा यो पनि एक कारण भएको दाबी गरेका थिए।
महासमितिले टुंगो लगाउन नसकेका केही विषय भाषा मिलाएर अनुमोदन गर्ने तयारीमा कांग्रेस शीर्ष नेताहरू जुटेका छन्। गत साउन २३ गतेदेखि जारी केन्द्रीय समिति बैठकमा महासमितिका प्रस्तावहरू अनुमोदनको एजेन्डा पनि छ।
सभापति शेरबहादुर देउवा र उनी पक्षका केन्द्रीय सदस्यहरूले मुख्य गरी तीन कुरामा अडान राख्दै आएका थिए। महामन्त्री थापाको प्रस्तावमा चुनावअघि गठबन्धन गर्न नहुने र १५ औं महाधिवेशन कार्यतालिका ल्याउनुपर्ने विषय छ।
यसलाई सम्बोधन गर्न सभापति देउवा लगभग सहमत देखिएका छन्।
आगामी आमचुनावमा कांग्रेस एक्लैले बहुमत ल्याउने गरी भाषा मिलाएर यो प्रस्ताव सहमतिमै अनुमोदनको तयारी गरिएको स्रोतको भनाइ छ। साथै समयमै महाधिवेशन गर्ने र विधान सम्मेलनका लागि मस्यौदा समिति गठन गर्ने जस्ता विषयमा पनि केन्द्रीय समितिले निर्णय गर्ने सम्भावना छ।
कांग्रेसको १४ औं महाधिवेशन २०७८ मंसिरमा भएको थियो। नियमित महाधिवेशन भए १५ औं महाधिवेशन २०८२ मंसिरमा हुनुपर्छ। यसका लागि कार्यतालिका ल्याउन महामन्त्री थापाले प्रस्ताव गरेका छन् भने केन्द्रीय सदस्य शेखर कोइरालाले पनि कुनै पनि बाहनामा महाधिवेशन सार्ने नहुनेमा ध्यानाकर्षण गराएका छन्।
अर्का महामन्त्री विश्वप्रकाश शर्माले पेस गरेको राष्ट्रपति एकपटक, प्रधानमन्त्री दुई पटक, मन्त्री तीन पटक र सांसद चार पटक हुने पाउने प्रस्तावमा भने केही परिमार्जन गर्न लागिएको छ। महामन्त्री शर्माले राष्ट्रपति एक पटक र प्रधानमन्त्री दुई पटक बन्ने व्यवस्था पारित हुने बताएका छन् भने सांसदको हकमा भने उनी त्यो व्यवस्था हटाउन लचक देखिएका छन्।
महामन्त्री शर्माले एक पटक राष्ट्रपति र दुई पटकमात्रै प्रधानमन्त्री बन्न पाउने प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पारित हुने बताएका छन्।
यो पनि: दुई पटकमात्रै प्रधानमन्त्री हुन पाउने प्रस्ताव कांग्रेस केन्द्रीय समितिबाट पास हुन्छः महामन्त्री शर्मा
यी प्रस्तावमा सहमति खोज्न सभापति देउवाले साउन २३ गतेदेखि सुरू केन्द्रीय समिति बैठक पटक-पटक स्थगित गर्दै पदाधिकारीहरूसँग छलफल गर्दै आएका छन्। उनले मध्यमार्गी बाटो खोजेर, प्रस्तावहरूका भाषा मिलाएर भए पनि सहमतिमै महासमितिका प्रस्ताव केन्द्रीय समितिबाट अनुमोदन गर्ने जमर्को गरेका हुन्।
उपसभापति पूर्णबहादुर खड्काले सर्वसम्मतिमै सबै प्रस्ताव केन्द्रीय समितिबाट पारित हुने बताएका छन्।
यो पनि: देउवालाई पार लगाउन हम्मेहम्मे परेका तीन एजेन्डा