काठमाडौंको टुँडिखेलमा सोमबार गौरा पर्वको अवसरमा कार्यक्रम भयो।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पर्यटन मन्त्री बद्री पाण्डे, वन मन्त्री ऐनबहादुर शाही, उद्योग मन्त्री दामोदर भण्डारीलगायत कार्यक्रममा पुगेका थिए।
कार्यक्रममा युवाहरूको एक समूहले प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी गरेका थिए।
प्रधानमन्त्री ओलीले गौरा पर्वमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताए।
नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भए पनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको ओलीको भनाइ छ।
प्रधानमन्त्री ओली केही संयमित देखिए पनि कांग्रेस सभापति देउवा भने कार्यक्रम विथोल्न हो-हल्ला गरिएको भन्दै युवाहरूप्रति असन्तुष्टि जनाए।
‘तपाईंहरू जति कराउनुछ कराउनुस्, लाज पनि छैन। गौरा पर्वको कार्यक्रम विथोल्ने?,’ देउवाले भने, ‘यही हो नेपालको चलन? बदमासहरू।’
धेरै मानिस गौरा पर्व मनाउन र गौरा खेल्न टुँडिखेलमा आएको तर केहीले विथोल्न खोजेकोले त्यसलाई जनताले ठिक पार्ने देउवाले बताएका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले भने नाराबाजी गर्ने समूहलाई नियन्त्रणमा नलिइएको जनाएको छ।
यो पनि: गौरा पर्वको अवसरमा टुँडिखेलमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीविरूद्ध नाराबाजी