राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूले सहकारीबाट ऋण लिएको प्रमाण नरहेको दाबी गरेका छन्।
शनिबार बिहान चितवन पुगेका लामिछानेले त्यहाँ पार्टीले गरेको एक कार्यक्रममा बोल्दा ऋण लिएको प्रमाण छ भन्नेहरूले १०६ दिनसम्म प्रमाण दिन नसकेको बताएका हुन्।
‘प्रमाण छ भनेर कुर्लनेले न संसद, न संसदीय छानबिन समिति वा न सरकारलाई नै प्रमाण दिए’ लामिछानेले भने, ‘प्रमाण छ भने अझै पनि जनताबीच ल्याउनुस्, राजनीति छोड्दिन्छु।’
सभापति लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नभए पनि हदैसम्म दुःख दिएर आफ्नो बद्नाम गर्न खोजिएको बताए।
लामिछानेले दुई ठूला दलको सरकार अन्तिम भोज नहोस् भनी कामना समेत गरे।
उनले फेरि अवसर नआउला कि जसरी दुई ठूला दल मिलेर बनाएको सरकारले जनताको पक्षमा काम गरेर गठबन्धनको औचित्य पुष्टी गर्नुपर्ने बताए।
भ्रष्टाचारको अनुसन्धान र अभियोजनमा हदम्याद स्वीकार्य नहुने पनि लामिछानेले बताए। उनले त्यसविरुद्ध संसदबाटै प्रतिवाद गरिने बताउँदै बहुमतको बलमा पेल्न खोजिए परिणाम नराम्रो हुने बताए।
‘संसदमै कडा प्रतिवाद गछौं, सुनुवाइ नभए जुनसुकै हदमा पनि जान सक्छौं’ उनले भने।