नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आइतबार पनि पेरिसडाँडामा बसेको छ।
शनिबार सुरू भएको बैठकमा नेताहरूले धारणा राखिरहेका छन्। यसैक्रममा उपमहासचिव जनार्दन शर्माले १४ पृष्ठको लिखित प्रस्ताव नै छलफलमा ल्याएका छन्।
उनले पार्टी फुटबारे चलाइएको हल्ला सम्बन्धमा भनेर करिब दुई पृष्ठ उल्लेख गरेका छन्। जसमा मूल नेतृत्वबाट नै 'जनार्दनले पार्टी फुटाउँदै भनिएको' उनको भनाइ छ।
‘खुमलटारबाट फलानो एमालेमा जाँदैछ भनेर सुरू गरिएको प्रचारवाजीलाई बालुवाटार पुगेपछि तीव्रता दिइयो। उक्त प्रचारबाजीलाई मद्दत पुग्ने गरी पोखरामा आइपुग्दा मूल नेतृत्वले नै पार्टी फुटतिर उन्मुख छ कसलाई साथ भन्दै कार्यक्रम हलमा हुटिङ गराएपछि सुन्नेहरुलाई पार्टी फुट्ने पक्कापक्की भयो भन्ने लाग्यो,’ उनले स्थायी कमिटीमा राखेको प्रस्तावमा भनिएको छ, ‘देशभर यसको असर देखा पर्न थाल्यो। फुटाउने कसले हो भन्दा बालुवाटारबाटै जनार्दनले हो भनेर भनिदिएपछि आज आम कार्यकर्ता र जनतामा पार्टी फुटको त्रास फैलिएको छ।’
देशभरिबाट दैनिक सयौंले फोन आउने र पार्टी फुट्दैछ भनेर सोध्ने गरिएको शर्मा बताउँछन्। ‘यो कुरा अन्य राजनीतिक दल, सुरक्षा निकाय, व्यूरोक्रेसी समेतमा चासोको विषय बनेको छ,’ उनले भने।
मूल नेतृत्वबाटै यस प्रकारको गतिविधि हुनुको पछाडि केही प्रश्न रहेको उनले बताए। ‘ती प्रश्नहरुको जबाफ दिने झन्झटतिर लाग्नुभन्दा आम पंक्तिलाई तरङ्गित पार्ने विषय हालिदिएर ध्यान अर्कैतिर मोड्ने उद्देश्य रहेको छ। स-साना अन्तरविरोध समाधान गर्न झन ठूलो अन्तरविरोध सृजना गरिदिनुपर्छ भन्ने अध्यक्षको मान्यताले काम गरेको छ,’ उनले भनेका छन्।
यो पनि:
प्रचण्डलाई जनार्दनको प्रश्नैप्रश्न (दस्ताबेज)
स्थायी कमिटीमा जनार्दनको प्रश्न- सबै सरकारबाट माओवादी बाहिरिनुपर्ने अवस्थाको जिम्मेवार को?