नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी शून्यतर्फ अभिमुख भएको निष्कर्षसहित १४ पाने धारणा स्थायी समितिमा पेस गरेका छन्।
उनले पार्टी निर्माणका समस्या, समाधानका उपाय र आगामी कार्यभार शीर्षकको धारणापत्र स्थायी समितिमा पेस गरेका हुन्।
१४ पृष्ठको धारणामा उनले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ माथि प्रश्नैप्रश्न खडा गरेका छन्।
‘आज हामीसँग संविधानका अलावा न जनाधार छ, न संगठन छ। केही सीमित उपलब्धिबाहेक न कुनै देखाउन लायक कामहरू छन्, न हाम्रो कुनै मौलिक विकासको मोडेल छ, हाम्रा एजेण्डाहरू खोसिँदै जाँदा हामीलाई माया गर्ने वर्ग, जाति, समुदाय हाम्रा व्यवहार र निर्णयले टाढिएको छ। सहरी जनमानस त हामीप्रति आकर्षित हुन सकेका छैनौं,’ जनार्दनको निष्कर्ष छ।
२०६४ सालको चुनावका जितेका १२० सिटमध्ये अधिकांश स्थान गुमाइसकेको भन्दै उनले माओवादी केन्द्र शून्यतर्फ केन्द्रित भएको बताएका छन्।
यो पनि: स्थायी कमिटीमा जनार्दनको प्रश्न- सबै सरकारबाट माओवादी बाहिरिनुपर्ने अवस्थाको जिम्मेवार को?
‘हामीलाई बहुमत दिने मतदाता र निर्वाचन क्षेत्र प्राय सबै हामीबाट खोसिएका छन्। हामी शून्यतर्फ उन्मुख छौं। पहिलो संसदीय निर्वाचनमा हामीलाई प्राप्त ३१ लाख मतदाताको अभिमत अहिले खस्किरहेको छ। र त्यसपछिका निर्वाचनमा कुल मतदाता संख्या बढे पनि हामी भने निरन्तर १४ लाख, ११ लाख हुँदै अझ खुम्चिनेतिर उन्मुख छौं, बिडम्बना के छ भने, आज पार्टीमा जो जति छन्, ती सबै असन्तुष्टि बोकेर बाँचेका छन्,’ उनको निष्कर्ष छ।
यसको जिम्मेवारी अहिलेको मूल नेतृत्व र नेतृत्वको टिमले लिन किन आनकानी गरिरहेका छौं भन्दै उनले प्रश्न उठाएका छन्।
पार्टी साँघुरिदै जानुको मूल कारण जनता नभएर हामीले उठाएका नारा, दिएका आश्वासन हामी सरकारमा हुँदा पूरा नभएर भएको उनको बुझाइ छ।
‘शान्ति प्रक्रियामा आए यता हाम्रो तौरतरिका बुद्धकालीनभन्दा फरक नभएको, जनसम्बन्ध, जनसम्पर्क वा हाम्रा च्यानलहरू सही नभएको, हाम्रो बसाइ–उठाइ, रहनसहन राजामहाराजाको जस्तो भएको जनताले मन पराएनन्। न हामीलाई अँगालो हाल्न चाहने आफ्नै वर्गले त्यो गर्न सक्ने अवस्था छ, न सुमसुम्याउन चाहनेहरूले त्यो अवसर पाउने स्थिति छ। सीमित मान्छेको घेरामा टाढैबाट दर्शनभेट हुने वातावरणमै हामी रमाउन थाल्यौं। के हामी यो अवस्थाको अन्त्य गरी जनतामा जानसक्ने वातावरण बनाउन सकौँला? हामीले जनताका लागि उठाएका मुद्दा र नाराहरुलाई पुनः जनताको विश्वास जागृत हुनेगरी उठाउन र पूरा गर्न संघर्ष गर्न सकौँला? कार्यकर्ताहरुले आफ्नो नेतृत्व आफै निर्माण गर्ने विधि र व्यवहार लागू गर्न सकौँला? आदेशमा मात्र चल्ने पार्टीलाई जनताको सेवामा स्चालित बनाउन सकौँला? अन्य पार्टी र हाम्रो पार्टी विचको राजनीतिक र जनताको लागि फरक यस्तो छ भनी छुट्याउने कार्यशैली र व्यवहार बनाउन सकौँला?,’ उनको प्रश्न छ।
उनले पार्टी निर्माणमा ९ चुनौती पनि औंल्याएका छन्।
पहिलो चुनौतीमा उनले माओवादी आन्दोलनमा आफ्नो जीवन समर्पण गरेका महिला, जनजाति, दलित, सिमान्तकृत, मधेसी, उत्पीडित वर्ग र समुदायहरू विस्तारै आन्दोलनबाट अलग हुँदै गएको उल्लेख गरेका छन्।
दोस्रो छरपष्ट हुँदै गएको जनमतबारे चिन्ता जाहेर गर्ने संस्थागत परिपाटी निर्माण हुन नसकेको औंल्याएका छन्।
तेस्रो पार्टीभित्र अन्तरसंघर्ष सञ्चालन र व्यवस्थापन गर्ने कार्यप्रति अरुचि बढ्दै गएको, फरक मतको सम्मान गर्ने संस्कार मासिँदै गएको र कम्युनिष्ट स्प्रिट अनुसार सामूहिक छलफल, बहसको परिपाटी कमजोर हुन पुगेको बताएका छन्।
चौथोमा पार्टीलाई आम जनताबाट अलगथलग मात्र नपारिएको, माथिदेखि तलसम्म परिवारवाद हावी गराइएको निष्कर्ष निकालेका छन्।
पाँचौंमा पार्टीभित्र मुद्दा विशेषमा कमी कमजोरीबारे छलफल र बहसलाई विषयान्तर गर्न पार्टी फुट्दैछ भन्ने हल्ला चलाइएको पनि बताएका छन्।
छैटौंमा विधि, पद्धतिभित्र सञ्चालित सही आचरणयुक्त पार्टी बनाऔं र चलाऔं भन्दा डर मान्नुपर्ने, धक मान्नुपर्ने, लाञ्छित हुनुपर्ने अवस्था सृजना गरिएको बताएका छन्। त्यसमा अझ थप दुरुत्साहन गर्न राज्य शक्तिको समेत दुरुपयोग भएको आभाष भएको बताएका छन्।
सातौं पार्टी सञ्चालनको मूल्य मान्यता, विधि, पद्धतिको धज्जी उडाइएका कारण न प्रणालीको स्थापना भएको न संगठनको स्वरूप र कमिटीहरू कतिबेला के बन्छ भन्ने कुरा अन्यौलग्रस्त बनेको पनि बताएका छन्।
आठौं, संघर्षबाट शान्तिमा आएको माओवादी लक्ष्यविहीन र एजेण्डाविहीन हुँदै समाज रूपान्तरणको अभियानबाट बिस्तारै आफ्नो निजी स्वार्थ र सुविधा उन्मुख भएको बताएका छन्। त्यसबाट एकाथरि नेता कार्यकर्ताहरू पद र सुविधा तथा अर्कोथरी अभाव र पीडामा भौतारिने वातावरण निर्माण भएको उल्लेख गरेका छन्।
नवौंमा क्रान्तिमार्फत शान्तिमा आउँदा समग्र राष्ट्रलाई संविधानसभा, संविधान, संघीयता, सामवेशी लोकतन्त्रको मार्गचित्रमा डोर्याएको माओवादी अहिले आफै किंकर्तव्यविमुढ हुन पुगेको बताएका छन्।
शान्ति प्रक्रियापछिका लगभग दुई दशकसम्म यदाकदा बाहेक कार्यकर्ताहरूको उचित व्यवस्थापन त परै जावस् उनीहरू कामविहीन भएको बताएका छन्। ती कार्यकर्तालाई क्रियाशील बनाउने स्पष्ट एजेण्डा र कार्यक्रम नभएको उल्लेख गरेका छन्।
यस्तो छ उपमहासचिव शर्माको लिखित प्रस्ताव: