नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बसेको छ।
शनिबारदेखि सुरू भएको बैठक आइतबार पनि जारी छ।
पेरिसडाँडामा बसेको बैठकमा उपमहासचिव जनार्दन शर्माले लिखित प्रस्ताव राखेका छन्।
उनले संगठन निर्माणका लागि प्राथमिक विषयमा अहिलेको राजनीतिक उथलपुथल र संघदेखि सबै प्रदेश सरकारबाट माओवादी बाहिनुको जिम्मेवार को हो भन्ने प्रश्न उठाएका छन्।
गठबन्धन बनाउने, भत्काउने र फेरि बनाउनेजस्ता क्रियाकलापले गर्दा पार्टीलाई पुर्याएको लाभहानीबारे पनि मूल्यांकन गरिनुपर्ने उनको माग छ।
‘अहिलेको उथलपुथलले संघ र सबै प्रदेशका सरकारबाट बाहिरिनुपर्ने अवस्था किन आयो र यसको जिम्मेवार को भन्ने विषय पार्टीमा स्पष्ट’ गरिनुपर्ने उनको भनाइ छ।
शर्माले जारी स्थायी कमिटीमा लिखित प्रस्ताव नै राखेका हुन्।
गत असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नयाँ सरकार गठन गर्नेलगायत ७ बुँदे सहमति भएको थियो। सो आधारमा संघदेखि प्रदेशसम्म कांग्रेस-एमालेले सरकार बनाउँदा माओवादी प्रतिपक्षमा पुगेको छ।
उपमहासचिव शर्माले संसदमा प्रभावकारी भूमिका खेल्दै २०८४ सम्म सरकारमा नजाने घोषणा गरिनुपर्ने पनि बताएका छन्।
उनले पार्टीका नेताहरूको सम्पत्ति विवरण यथार्थ सार्वजनिक गरिनुपर्ने बताएका छन्।
‘पार्टी फुट्दैछ भनेर नेतृत्व तहबाटै तहबाट चलाइएको हल्लाबारे स्पष्ट गर्न’ पनि उनले माग राखेका छन्।