जनमत पार्टीले मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहलाई स्पष्टीकरण सोधेको छ।
मुख्यमन्त्री सिंहले अहिलेसम्मकै ठूलो २० सदस्यीय मन्त्रिमण्डल गठन गरेका थिए।
जनमतका सांसदसमेत रहेका मुख्यमन्त्री सिंहलाई पार्टीसँग समन्वय नगरी महत्वपूर्ण निर्णय लिने गरेकोमा स्पष्टीकरण सोधिएको हो।
पार्टीका प्रवक्ता शरदसिंह यादवले विभिन्न विषयमा केन्द्रित रहेर मुख्यमन्त्री सिंहलाई स्पष्टीकरण सोधिएको सेतोपाटीलाई बताए।
‘पार्टीसँग समन्वय नै नगरी मन्त्रालय बाँडफाँड गर्नुभयो, राज्यमन्त्रीसमेत थप गर्नुभयो,’ उनले भने, ‘उहाँले पार्टीसँग समन्वय नै गर्नुभएन।’
पार्टीले परिणाम देखिने गरी काम गर्न भने पनि मन्त्रालयका काममा भन्दा उद्घाटन समारोहहरूमा समय दिएको पाइएको पनि उनले बताए।
‘मन्त्रालयको काममा ध्यान दिनुभन्दा पनि अनावश्यक उद्घाटन समारोहमा समय खर्चदै आएको पाइयो। पार्टीले दिएका निर्देशन पनि उहाँले बेवास्ता गर्नुभयो,’ उनले भने।
साथै बजेटमा सांसदहरूका लागि पाँच करोड रुपैयाँ दिने विवादास्पद निर्णय गरेकोमा पनि पार्टीले मुख्यमन्त्रीसँग स्पष्टीकरण मागेको उनको भनाइ छ।
‘यस्ता कामकारबाहीले जनमत पार्टीको छविमा बारम्बार आँच पुर्याएको देखिन्छ, त्यसैले स्पष्टीकरण सोधेका हौं,’ उनले भने।
मुख्यमन्त्री सिंहले गत मंगलबार नेपाली कांग्रेसका दुई, नेकपा (एमाले), जनमत र लोसपाबाट एक-एक जना गरी पाँच राज्यमन्त्री थप गरेका थिए।
१२ मन्त्रालय रहेको मधेसमा यसअघि मुख्यमन्त्रीसहित १२ मन्त्री र तीन राज्यमन्त्री थिए। यहाँ कांग्रेसले चार, एमालेले चार, जनमतले मुख्यमन्त्रीसहित ३, लोसपाले एक मन्त्रालय लिएका थिए। यिनै दलहरूबाट राज्यमन्त्रीहरू पनि नियुक्त गरिएको थियो।
मधेसमा सिके राउत नेतृत्वको जनमत पार्टी नेतृत्वमा सरकार छ। यो सरकारलाई नेपाली कांग्रेस, नेकपा (एमाले) र लोसपाले समर्थन गर्दै सरकारमा सहभागी छन्।
यो पनि: मधेसमा २० सदस्यीय मन्त्रिपरिषद बनाएपछि सत्तारूढ दलहरूबीच आरोपप्रत्यारोप