बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले पदबाट राजीनामा दिएर देश छाडेर गएको खबरहरू आएका छन्।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्स, बिबिसी, अल्जजिरा लगायतले स्थानीय मिडियालाई उदृत गर्दै हसिनाले राजीनामा दिएको समाचार लेखेका छन्।
हसिनाले ढाकास्थित प्रधानमन्त्री निवास ‘गणभवन’ बाट सेनाको हेलिकप्टर चढेर सुरक्षित स्थानमा गएको पनि विभिन्न समाचार संस्थाले लेखेका छन्।
उनी देश छाडेर हेलिकप्टरमा भारततर्फ उडेको दाबी भइरहेका छन्।
‘उनी र उनकी बहिनीले सुरक्षित ठाउँका लागि गणभवन छाडेका छन्,’ स्रोतले एएफपीसँग भन्यो, ‘उनले सम्बोधन गर्न चाहेकी थिइन्। तर त्यसका लागि अवसर भने पाइनन्।’
सोमबार प्रदर्शनकारीहरू पनि प्रधानमन्त्री निवासमा छिरेको बंगलादेशको समाचार दैनिक प्रोथोम अलोलाई उदृत गर्दै अल्जजिराले समाचारमा लेखेको छ।
बंगलादेशका सेना प्रमुख वाकेर-उज-जमनले देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। उनले विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल गरिरहेका छन्।
बंगलादेशमा विभिन्न जिल्लामा जारी आन्दोलनमा आइतबारमात्रै कम्तिमा ९१ जना मारिएका छन्।
प्रधानमन्त्री शेख हसिनाको राजीनामा माग गर्दै दसौं हजारको संख्यामा उत्रिएका विद्यार्थी र सुरक्षाकर्मीबीच झडप हुँदा एकै दिन ९१ जना मारिएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो पनि: बंगलादेशमा प्रधानमन्त्री निवास छिरे प्रदर्शनकारी, हसिनाले छाडिन् ढाका