प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले शुक्रबार प्रतिनिधि सभामा विश्वासको मतको प्रस्ताव पेस गरेका छन्।
उक्त प्रस्ताव राख्दा उनले एक घन्टाभन्दा बढी बोलेका थिए।
नेकपा (एमाले) ले नेपाली कांग्रेससँग सहकार्य गर्दै राष्ट्रिय सहमतिको सरकार बनाउने निर्णय गरेर सरकारलाई दिएको समर्थन फिर्ताप्रति प्रधानमन्त्रीको रोष र आक्रोश देखिन्थ्यो।
प्रधानमन्त्री प्रचण्ड सुरूमै एमाले अध्यक्ष केपी ओलीमाथि खनिए। बहुमत गुमाएपछि नैतिकताका आधारमा राजीनामा गर्नुपर्ने एमालेको मागलाई प्रधानमन्त्री प्रचण्डले पुस ५ गते ओलीले गरेको संसद विघटन स्मरण गर्दै नैतिकताको पाठ नपढाउन भने।
'अल्पमतमा परेपछि संसद विघटन गर्ने बानी परेका र त्यसको समर्थन गर्नेहरूले नैतिकताको पाठ पढाउने प्रयास गरिरहे,' उनले भने।
कांग्रेस र एमालेले राष्ट्रिय सहमतिको नाउँमा छलछाम गरेको आरोप लगाए। एमाले र कांग्रेसले सहकार्य गर्ने सहमति गरेको समय र ठाउँले त्यो सहमति नभई षड्यन्त्र रहेको दाबी गरे।
संविधानमा माओवादी केन्द्रको सबैभन्दा ठूलो लगानी रहेको र त्यसलाई कमजोर बनाउन खोजे माओवादीले प्रतिवाद गर्ने चेतावनी दिए।
'संविधानलाई माओवादीले कमजोर बनाउँदैन बनाउन दिँदैन र दिने पनि छैन,' उनले भने, 'दशकौं लामो विद्रोह र त्यसपछिका आन्दोलनका जगमा बनेको संविधानलाई मध्यरातमा झम्टीझम्टी च्यात्न खोज्दा सडमा पलेटी कसेर जनताको साथ लिएर बचाइएको हो र आउने दिनमा पनि त्यसरी नै बचाइन्छ।'
प्रधानमन्त्री प्रचण्डले कांग्रेस-एमालेबीचको मध्यरातको सहमति, त्यो सहमति हुनुका कारण र ओलीले झुक्याएसम्मका फेहरिस्त लगाइसकेपछि विश्वासको मत नपाउने टेन्सन नरहेको बताए।
बरू जाँदाजाँदै उनले कांग्रेस र एमालेको सहकार्यमा बन्ने लागेको सरकारलाई संविधान नमिच्न चेतावनी दिए।
साथै आफू नेतृत्वमा हुँदा सरकारले चलाएको भ्रष्टाचारविरूद्धको अभियानलाई आगामी सरकारले कसरी अगाडि बढाउँछ भन्ने कुरालाई निगरानी गर्ने बताए।
उनले दुई तिहाईको बलमा संविधान संसोधनका नाउँमा जनताको अधिकार खोस्ने विषय दिमागबाट निकाल्न पनि कांग्रेस एमालेलाई चेतावनी दिए।
'अधिकार उपभोग गरिसकेको जनता उपलब्धि खोस्न सजिलो हुने छैन। हिजो निदाएको सिमान्त वर्गमाथि जति शासन भयो भयो। युद्ध आन्दोलन र विद्रोहको भट्टीले जगाएको मात्रै छैन राप र तापसहित स्पात बनाएको छ। प्राप्त उपलब्धिहरूलाई जिस्क्याउने कोसिस नगर्नुहोला। यो प्रयास भयो भने संसद र सडकमा ठूलो प्रतिरोध हुनेछ,' उनले भने।
उनले प्रचण्डसँग रिस फेर्ने कुण्ठामा सिमान्त वर्ग र समुदायलाई जिस्काउने गल्ती नगर्न पनि दलहरूलाई चेतावनी दिए।
'भुइँमान्छेहरूको प्रतिरोध र विद्रोहको तागत आफ्नै जीवनकालमा तपाईं हामी सबैले देखिसकेको हो। त्यो अवस्था फेरि नतिम्तियोस्,' उनले भने।
प्रधानमन्त्री प्रचण्डले क्रान्तिको शक्ति लिएर शान्तिको ढोका खोल्ने प्रचण्ड छिट्टै नजन्मिने दाबी गर्दै आगामी सरकारले जगाउने आक्रोश र अस्थिरताको आगो राष्ट्रको लागि महँगो पर्न सक्ने पनि बताए।
उनले दलहरूलाई इतिहास नबिर्सन पनि चेतावनी दिए।
'तपाईंहरूले कमजोर मानेको र दबाएको थारूले देखाएको सौर्य र वलिदान पनि नबिर्सौं । तपाईंहरूले शताब्दीऔंदेखि हेपेको मधेसी आन्दोलनको बलमा काठमाडौंलाई कसरी झुकाइएको थियो त्यो पनि सम्झी राखौं। जनयुद्ध आँधीले हल्लिएको र भत्किएको इतिहास नबिर्सौं,' उनले भने।
अन्तिममा प्रधानमन्त्री प्रचण्डले राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा क्रान्तिले गरेको उद्धारप्रति कृतज्ञ हुन नसकेपनि बेइमानी नगरिदिन पनि आग्रह गरे।
यो संविधान जनक्रान्तिको सन्तान र दस्तावेज हो। यो अभिजातहरूले दया गरेर दिएको संविधान होइन। जनताले लडेर बनाएको संविधान हो।यसको महत्व, गरिमा, ऐतिहासिकता र दूरगामीतालाई कसैले पनि अवमूल्यन नगर्नू,' उनले भने।
दुई ठूला दलहरूले जनमत र नागरिक उन्मुक्तिजस्ता नयाँ दलहरूलाई अस्थिरताको कारक मान्ने सिध्याउने कसरत गरेको तर आफूले सँधै लोकतन्त्रको फूल मानेको प्रधानमन्त्री प्रचण्डको दाबी थियो।
'पार्टी हुनका लागि पाँच प्रतिशत बढाएर १० प्रतिशत बनाउँदा के हुन्छ स्थिति हामी सबैले सोचेकै हौंला। भोट जतासुकै हाल्नुस् आज तर सिद्धान्ततः कहाँ सहमत हुनुहुन्छ भन्ने मुख्य हो,' उनले भने।
प्रधानमन्त्री प्रचण्डले अन्तिममा नयाँ बन्ने सरकारलाई संविधान मिच्नतिर नलाग्न र नयाँ सरकार गठन गर्दा पनि संविधान नमिच्न आग्रह गरे।
उनले संविधानको धारातर्फ इंगित गरेका थिए। एमालेले सरकार समर्थन फिर्ता लिएपछि माओवादी केन्द्रले नयाँ बन्ने सरकार संविधानको धारा ७६(३) अनुसार बन्ने दाबी गर्दै आएको छ। उक्त धाराले संसदको सबैभन्दा ठूलो दलका नेता प्रधानमन्त्री बन्ने परिकल्पना गरेको छ।
'सहकार्यको बधाईसहित यति भन्न चाहन्छु कि संविधान मिच्नतिर नलाग्नुस्। नयाँ सरकार पनि संविधान नमिची बनाउनुहोला,' प्रधानमन्त्री प्रचण्डले भने।
उनले कांग्रेसलाई बेग्लै अनुरोधसमेत गरे।
'कृपया संसदचाहिँ बचाउनुहोला। दुई-दुई पटक संसद विघटन गरिँदा संविधान च्यात्ने दुष्साहस गर्दा तपाइँहरू सँगै लडेर बचाएको हो भन्ने कुराको महत्वलाई नबिर्सनुहोला। संविधान नकुल्चेसम्म बहादुर भइँदैन भन्ने मान्यता बोकेका साथीहरूले संसद नै निल्ने प्रयास गर्न सक्छन्। हिजो हामी मिलेर जोगाएका हौं। अब पनि जोगाउनुपर्छ। र आफू पनि जोगिनुपर्छ,' उनले भने।