प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आफूलाई नेपाली कांग्रेस र नेकपा (एमाले) मिल्दा प्रतिगमन र निरंकुशताको डर लागेको बताएका छन्।
प्रतिनिधि सभामा शुक्रबार विश्वासको मत प्रस्ताव पेस गर्दै प्रधानमन्त्री दाहालले संसदको पहिलो र दोस्रो ठूलो दललाई विश्वासले नजोडेको पनि दाबी गरे।
कांग्रेस र एमाले मिलेर सरकारमात्र बनाउने नभई रहस्यमय तरिकाले वर्तमान संविधानमाथि छेडछाड गर्न खोजेको उनको आरोप छ।
‘नियत सफा भए पहिलो र दोस्रो ठूला दल मिल्न अँध्यारो बन्द चाहिन्छ?’ गत असार १७ गते मध्यरातमा कांग्रेस र एमालेले गरेको सहमतिप्रति लक्षित गर्दै उनले भने, ‘सदनबाट मैले विश्वासको मत पाउँला नपाउँला, म प्रधानमन्त्री रहुँला नरहुँला, त्यसमा म बिल्कुल चिन्तित छैन। म चिन्तित पछिल्ला नाटकीय घटनाक्रमबाट छु। संसदको पहिलो र दोश्रो ठूलो दललाई विश्वासले जोडेको भए चिन्ताको विषय हुने थिएन, डरले जोड्यो। त्यो डर हो, सुशासनको डर।’
लामो संघर्ष र ठूलो बलिदानबाट जनताले प्राप्त गरेका अधिकार कांग्रेस र एमालेले खोस्ने जमर्को गरेको उनको आरोप छ।
‘तपाईहरूको यात्रा प्रतिगमनतिर हो भन्ने कुरा सहमतिको तरिका, सहमति गरेको ठाउँ र सहमतिको समयबाट आम जनताले बोध गरिसकेका छन्। तपाईहरू यति धेरै अपारदर्शी हुनुहुन्छ कि जनताको त कुरै छोडौं आफ्नै पार्टी पंक्तिलाई समेत अन्धकारमा राखिरहनुभएको छ। नियत सफा भए पहिलो र दोश्रो दल मिल्न अँध्यारो बन्द कोठा चाहिन्छ? झूटमुट र कुतर्कको सहारा र मध्यरात चाहिन्छ?’ उनले भने।
(न्युज एजेन्सी नेपाल)