ललितपुरस्थित नेकपा (एमाले) को केन्द्रीय कार्यालय च्यासलमा कार्यकर्ताको चहलपहल हुन थालेको छ।
अध्यक्ष केपी शर्मा ओली चौथो पटक प्रधानमन्त्री बन्न लागेपछि र एमालेले सातौं पटक सरकारको नेतृत्व गर्नै लाग्दा कार्यालयमा कार्यकर्ताको उपस्थिति देखिन्छ।
गत असार १७ गते कांग्रेस र एमालेका बीचमा राष्ट्रिय सहमतिको सरकार बनाउने र पहिलो चरणमा त्यसको नेतृत्व अध्यक्ष ओलीले गर्ने सहमति भएको थियो।
त्यही जानकारी दिन र पार्टीको २०८१ को कार्ययोजनाबारे छलफल गर्न एमालेले सचिवालयको बैठक बोलाएको थियो।
सचिवालय बैठकका निर्णय सुन्न पार्टीका नेताका अलावा कार्यकर्ता पंक्ति पनि केन्द्रीय कार्यालय पुगेका थिए। उनीहरूले पार्टीका शीर्षस्थ नेताहरूसँग हात मिलाउँदै सामूहिक फोटो खिचिरहेका देखिन्थे।
एमालेबाट यसअघि २०५१ मा मनमोहन अधिकारी प्रधानमन्त्री बनेका थिए।
त्यसपछि २०६५ मा माधवकुमार नेपाल, २०६७ मा झलनाथ खनाल, २०७२ मा अध्यक्ष ओली प्रधानमन्त्री बनेका थिए।
त्यसपछि २०७४ मा प्रधानमन्त्रीमा दोहोरिएका ओली २०७८ मा तेस्रो पटक प्रधानमन्त्री बनेका थिए। यसपटक उनी चौथो पटक प्रधानमन्त्री बन्ने तयारीमा जुटेका हुन्।
एमाले र जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकार अल्पमतमा परेको छ। प्रधानमन्त्री दाहालले यही असार २८ गते प्रतिनिधि सभामा विश्वास मतको प्रस्ताव राख्नेछन्। यो निर्क्योल भएपछि मात्रै ओलीको नेतृत्वमा नयाँ सरकार गठन प्रक्रिया सुरू हुन्छ।
तस्बिरहरू: