काठमाडौं महानगरपालिकाको नगर कार्यपालिका सदस्य अनिता कार्की (ढोली) ले महानगरका जनप्रतिनिधिले गर्ने हरेक भ्रमणको लेखाजोखा हुनुपर्ने बताएकी छन्।
मंगलबार राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभा बैठकमा पेश भएको लेखा समितिको प्रतिवेदनबारे टिप्पणी सहितको सुझाव दिँदै कार्कीले उक्त कुरा बताएकी हुन्।
कार्कीले महानगरमा देखिएको बेरूजु कसरी अन्त्य गर्न सकिन्छ भन्नेतर्फ लाग्नुपर्ने धारणा राखिन्।
यस्तै, धेरै जनप्रतिनिधिहरू महानगरले प्रदान गर्दै आएको सेवा सुविधा लिने भन्ने विषयमा अन्योलता भएको बताइन्।
यस्तै, उनले आगामी दिनमा बेरूजु र वित्तीय अनुशासनलाई कायम गर्न कसरी काम गर्न सकिन्छ भनेर सुझाव दिएकी थिइन् र बेरूजु अन्त्यको लागि जनप्रतिनिधिको वृद्धि विकास र वैदेशिक भ्रमणमा भइरहेको खर्चमा ध्यान पुर्याउनुपर्ने बताइन्।
'हामीले कार्यपालिका बैठकमा थुप्रै जनप्रतिनिधिहरूको भ्रमणको विषयमा कुराकानी गर्छौं,' उनले भनिन्, 'तर भ्रमणका लागि आएको कोटा कति हो, को को जान पाउने र को को जान नपाउने भनेर संख्या निर्धारण गर्दैनौं। त्यो भ्रमणको लागत कति हो भनेर लेखाजोखा गर्दैनौं र समग्रमा एकमुष्ट मात्र पेश गर्ने गर्छौं।'
यस्तै, गत वर्ष आर्थिक लेखा परीक्षण (आलेप) ले प्रस्तुत गरेको प्रतिवेदनमा पनि १२ जना जनप्रतिनिधि र छ जना कर्मचारीले गरेको भ्रमणमा असुलउपर भनी बेरूजु आएको हुँदा अब ध्यान दिनुपर्ने उनको भनाइ थियो।
'आगामी दिनमा त्यो खालको बेरूजु नआउन महानगरको आय र व्ययमा भार हुने किसिमका भ्रमणहरू नगर्दा हुन्थ्यो होला,' उनले भनिन्, 'अति आवश्यकताभन्दा आन्तरिक र वैदेशिक भ्रमण आउँदा कति जनालाई सिफारिस आएको भनेर लेखाजोखा गर्नुपर्छ।'