काठमाडौं महानगरपालिकाका वडा नम्बर २३ का वडाध्यक्ष मचाराजा महर्जनले मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतका सचिवालय सदस्य र उनीहरूले लिइरहेको सेवा सुविधा पारदर्शी हुनुपर्ने बताएका छन्। ।
मंगलबार राष्ट्रिय सभा गृहमा बसेको १५ औं नगर सभाको पाँचौं बैठकमा नगर सभामा वडाध्यक्ष महर्जनले उक्त कुरा बताएका हुन्।
'मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतका सचिवालय सदस्यहरूले लिइरहेको सेवा सुविधा पारदर्शी हुनुपर्छ,' उनले भने।
वडाध्यक्ष महर्जनले महाननगरको चालु खर्च कम भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका थिए भने उक्त खर्च गर्न के कारणले कठिन भएको त्यो समस्या औंल्याउन सुझाए।
यस्तै, संस्कृत विद्यालय भत्काउन कठिन भइरहेको उनले बताए।
'संस्कृत विद्यालय भत्काउन पुरातत्वसँग कुरा गरी प्रक्रिया अगाडि बढायौं,' उनले भने, 'हामीले त्रिभुवन विश्वविद्यालय अन्तर्गत रहेको उक्त विद्यालयको जग्गा सोचेर काम गरिरहेको अवस्थामा उक्त जग्गाको भोगाधिकार ललितकला क्याम्पस रहेको भन्ने पत्र आएको छ। त्यसैले गर्दा जीर्ण रहेको विद्यालयको भवन भत्काउन सहजीकरण गरिदिन अनुरोध गर्छु।'
उनले उक्त विद्यालय भत्काउन महानगरबाट बजेट विनियोजन गरिदिन समेत आग्रह गरे।
त्यस्तै, महानगरभित्र सबैको घरमा सवारी साधन हुने तर पार्किङ गर्ने स्थान नहुँदा आवश्यकता अनुसार पार्किङको लागि व्यवस्थापन गर्न अनुरोध गरे।
मालपोत कार्यालय र महानगरले तोक्ने राजस्वको दररेटमा धेरै भिन्नता हुँदा त्यसलाई एकै बनाउन उनले जोड गरे।