राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले पार्टी महामन्त्री डा. मुकुल ढकालको बुधबारको केन्द्रीय समितिमा असहज, अस्वाभाविक, अप्राकृतिक गतिविधि गरेको बताएका छन्।
केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महामन्त्री डा. ढकालको यस्तो व्यवहारबारे अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने निर्णय भएको पनि बताए।
'अलि असहज, अलि अस्वाभाविक, अलिअलि अप्राकृतिक जस्तो पनि भएको छ। राजनीतिक पार्टीको जीवनमा यस्तो उतारचढाव आउँदो रहेछ। यसलाई अतिरञ्जित ढंगले बाहिर प्रेषित भइरहेको छ,' उनले भने, 'असहज नै भइराखेको छ। बैठक सञ्चालन गर्ने जुन सर्वमान्य सिद्धान्त छ, त्यसमा टेकेर गर्छौं। अहिले विधिअनुसार भइरहेको छ।'
महामन्त्री ढकालको आजको व्यवहारप्रति पार्टी अनुशासन आकर्षित हुने कि नहुने भनेर शतप्रतिशत सदस्यहरूले प्रश्न उठाएको उनले बताए।
'यति अस्वाभाविक, यति असहज, अप्राकृतिक भयो, यसको के अनुशासन लाग्दैन? सदस्यले छिस्रिक्क केही गर्दा अनुशासनको डन्डा चल्ने, महामन्त्रीको व्यवहार दण्डित हुनुपर्दैन भनेर केन्द्रीय सदस्यहरूले आवाज उठाएका थिए,' उनले भने।
तर सभापतिले आजै कारबाहीको विषय बनाउने भन्दा पनि अनुशासन आयोगको राय लिएर निष्कर्षमा पुग्ने बताएको उपसभापति वाग्लेको भनाइ छ।
समीक्षा यात्राको प्रतिवेदनका विषय मिडियामार्फत् सार्वजनिक गरेको भन्दै महामन्त्री ढकाललाई रास्वपाको अनुशासन आयोगले स्पष्टीकरण सोधेको थियो। ढकालले त्यसको जबाफ नदिने बताएका छन्। उनले अनुशासन आयोग महामन्त्रीको निर्देशन पालना गर्ने निकाय भएकाले स्पष्टीकरण सोध्न नसक्ने बताउँदै आएका छन्।
'सभापतिले केही विषय अनुशासन आयोगले पनि हेरिरहेको छ। केही विषय विचाराधीन पनि छन्। अब बस्ने सत्रमा अनुशासन आयोगको दृष्टिकोण सुनेर निष्कर्षमा पुग्ने कुरा गर्नुभएको छ। केन्द्रीय सदस्यहरूले अराजकता दण्डित नहुने हो भने खराब संस्कृतिको विजारोपण गर्छ भनेर शतप्रतिशत ढंगले आवाज उठाइराख्नुभएको छ। सभापतिले अनुशासन आयोगमार्फत् नै गरौं भनिराख्नुभएको छ,' वाग्लेले भने।
बाहिर महामन्त्री ढकाललाई बोल्न नदिएको भन्ने ढंगले सूचना सम्प्रेषण भइरहेको प्रति पनि उनले चिन्ता व्यक्त गरे।
'बाहिर रवि लामिछानेलाई गाली गरिँदैछ, लोकतान्त्रिक भएन भनेर भाष्य बनाइएको छ, त्यो सही होइन,' उनले भने।
महामन्त्री ढकालले ३९ जिल्ला घुमेर तयार पारिएको प्रतिवेदन छलफल गर्ने केन्द्रीय समितिको बैठक लाइभ गर्न माग गरेका थिए। सभापति लामिछानेले त्यस विषयलाई केन्द्रीय समितिमा प्रस्तुत गरेको तर शतप्रतिशत केन्द्रीय सदस्यले अस्वीकृत गरेको वाग्लेले बताए।
त्यसपछि महामन्त्री ढकाललको व्यवहार असहज देखिएको वाग्लेले बताए। केन्द्रीय समितिले लाइभ गर्ने प्रस्ताव विफल तुल्याएपछि उनी मुखमा कालो टेप टाँसेर विरोधमा बसेका थिए।
सभापति लामिछानेले उनलाई ३२ पृष्ठको समीक्षा प्रतिवेदन वाचन गर्न भनेको तर महामन्त्री ढकालले बोल्ने अधिकार हनन भएको भन्दै मुखमा टेप टाँसेपछि सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले डेढ घन्टा लगाएर प्रतिवेदन पढेर सुनाएका थिए।
महामन्त्री ढकालले सय दिनमा गर्नुपर्ने कामको सुझाव भन्दै अर्को ६ पृष्ठको प्रस्ताव अघि सारेका थिए। अन्तिममा सभापति लामिछानेले त्यो पनि पेस गर्न अनुमति दिएको तर मिडियामा आइसकेको विषय केन्द्रीय समितिको अवमूल्यन हुने गरी किन वाचन गर्नु भनेर सदस्यहरूले अस्वीकृत गरेको वाग्लेले बताए।