प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आइतबार दिउँसो उनीहरूबीच झण्डै दुई घण्टा कुराकानी भएको हो।
शनिबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीबीच चलेको तीन घण्टा लामो छलफलको पृष्ठभूमिमा यो भेटवार्ता भएको हो।
प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच अहिलेकै सत्ता गठबन्धनलाई टिकाएर लैजानेबारे कुराकानी भएको प्रधानमन्त्री दाहालकी स्वकीय सचिव गंगा दाहालले सेतोपाटीलाई जानकारी दिइन्।
उनकाअनुसार राजनीतिक दलका नेताहरूबीच भेटघाट हुँदैमा विश्वासको वातावरण नबिग्रिने विषयमा प्रधानमन्त्री प्रचण्ड र ओलीबीच समझदारी बनेको छ।
‘सत्तापक्ष र प्रतिपक्षका नेताहरूबीच भेटवार्ता हुनु सामान्य कुरा हो, सत्ताबाहेक अरू पनि राजनीतिक ऐजेण्डाहरू हुन्छन्,’ दाहालले भनिन्, ‘बाहिर चर्चा भएजस्तो यो गठबन्धन छोड्ने या नयाँ गठबन्धन बनाउने भन्ने केही पनि कुरा भएको छैन।’
प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीचको संवादको उत्तरार्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पनि पुगेका थिए। लामिछाने सहितको संवाद पनि गठबन्धनलाई थप बलियो बनाउने भन्ने बारेमा केन्द्रित रहेको उनको भनाइ छ।
उनीहरूबीच सोमबार बिहान ९ बजे छलफल गर्ने समझदारी बनेको छ।
शनिबार अध्यक्ष प्रचण्डसहितका नेताहरू सहभागी हुने पूर्वनिर्धारित कार्यक्रममा नगएर एमाले अध्यक्ष ओलीले कांग्रेस सभापति देउवा र केन्द्रीय सदस्य आरजु राणा देउवासँग आफ्नै निवास बालकोटमा भेटेका थिए।
उक्त भेटमा के छलफल भएको थियो सार्वजनिक भइसकेको छैन। तर त्यो भेटपछि प्रधानमन्त्री र उनी अध्यक्ष रहेको माओवादी केन्द्र तरंगित बनेको छ।
अध्यक्ष ओली सिहंदरबार जानुअघि आइतबार बिहान प्रधानमन्त्री दाहाल र ओलीबीच टेलिफोन वार्तासमेत भएको थियो।