इटहरी उपमहानगरपालिकाकी उपमेयर संगीताकुमारी चौधरीसहित नेकपा (एमाले) का जनप्रतिनिधिहरूले बहिष्कार गरेपछि वडाध्यक्षले प्रस्तुत गरेर सार्वजनिक भएको बजेट पारित नगर्ने अडान एमालेले अघि सारेको छ।
आर्थिक वर्ष २०८१/०८२ को बजेट, नीति तथा कार्यक्रममा सुरूवात देखि नै एमालेले असहमति जनाउँदै आएको थियो। उपमेयरको दल एमालेले नगरसभा बहिष्कार गरेपछि असार १० गते राति ९ बजे वडा अध्यक्ष दिवस पोखरेलले अर्थ विधेयक र विनियोजन विधेयक प्रस्तुत गरेका थिए।
३ अर्ब ५७ करोड ८४ लाख ५० हजार रुपैयाँ बराबरको बजेट ल्याएको इटहरीले ९६ करोड आन्तरिक आय हुने अनुमान गरेको छ।
त्यसदिन उपमेयर चौधरीले बिना छलफल बजेट पेस गर्न लागेको भन्दै अनुपस्थित रहेपछि एमालेका अन्य प्रतिनिधिले बहिष्कार गरेका थिए। इटहरी कार्यपालिकामा एमालेको बहुमत छ।
उपमेयर चौधरीले विज्ञप्ति निकालेरै बजेट पारित नहुने चेतावनी दिएकी छन्।
‘राजश्व परामर्श समितिले राजश्व प्रक्षेपण गर्ने र सो को आधारबाट स्रोत अनुमान तथा सीमा निर्धारण समितिको बैठक बसेर स्रोतको अनुमान गर्दै वडास्तरीय सिलिङ, विषयगत समितिको सिलिङ, चालु आर्थिक वर्षको र विगत देखिएका योजनाहरूको दायित्व भुक्तानी, चालु खर्चको सिलिङ म्याचिङ्ग फण्ड लगायतका अन्य थुप्रै विषयहरूमा सीमा निर्धारण गरिसके पश्चात् बजेट तथा योजना तर्जुमा समितिले सम्पूर्ण योजना तथा कार्यक्रमहरू निर्धारण गरी कार्यपालिकामा छलफलका लागि पेस गर्नुपर्ने कानुनी प्रक्रिया छ,’ उनले भनेकी छन्।
उनले थपिन्, ‘बजेटको कुनै पनि अंग पुरा नगरी लहड, आवेग र उत्तेजनामा नगर सभाका २० जना सदस्यहरूको भौतिक उपस्थितिमा नगरले धान्नै नसक्ने अवस्थाको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत भएको खबरले दुखी एवम् स्तब्ध भएकी छु।’
यथार्थमा आधारित बजेट ल्याउन नगर सभाका सचिव तथा प्रमुख प्रशासकीय अधिकृत र नगर प्रमुख तथा सभा अध्यक्ष समक्ष पटकपटक अनुरोध गर्दा बेवास्ता गरेको उनले दाबी गरेकी छन्।
कार्यपालिका बैठकमा छलफल गराई बजेट पुनर्लेखन गर्नुपर्ने माग गर्दै उनले त्यसो नगरे बजेट पास गर्न नदिने चेतावनी उनले दिएकी छन्।