बाराको जीतपुर सिमरा उपमहानगरपालिकाको १० औं नगर सभा बैठकमा तनाव उत्पन्न भएको छ।
सोमबार प्राइम पार्टी प्यालेसमा भएको नगर सभा नेकपा (एमाले) र लोकतान्त्रिक समाजवादी पार्टीका नगर सभा सदस्यहरूले बहिष्कार गरेका हुन्।
प्रमुख प्रशासकीय अधिकृत उर्मिला काफ्ले र केही नगर सभा सदस्यहरू उपस्थित भएपछि मेयर राजन पौडेलले बैठक अघि बढाएका थिए।
तर बैठकमा उपमेयर भोला अधिकारीलगायत उपस्थित थिएनन्।
मेयर पौडेलले गणपुरक संख्या पुगेकोले बैठक अघि बढाएको जानकारी गराएका थिए।
तर उपमेयर अधिकारीले १२२ जना नगर सभा सदस्यहरू रहेकोमा मेयरका पक्षमा जम्मा २२ जना र विपक्षमा एक सय जना रहेको दाबी गरेका छन्।
‘मेयरका पक्षमा २२ जना छन्, १०० जना नगर सभा सदस्यलाई बाहिरै राखेर मेयरले बैठक चलाउन खोज्नुभयो,’ उपमेयर अधिकारीले भने, ‘उहाँ एकलौटी ढंगले अघि बढेपछि हामीले बहिष्कार गरेको हो। यसको प्रतिवाद हुन्छ।’
मेयर पौडेल नेकपा (माओवादी केन्द्र) बाट निर्वाचित भएका हुन् भने उपमेयर अधिकारी नेकपा (एमाले) बाट निर्वाचित भएका थिए।
मेयर पौडेलले बैठक अघि बढाएपछि एमाले र लोसपाबाट निर्वाचित नगर सभा सदस्यहरूले अवरोध गर्दा सामान्य झडपसमेत भएको थियो।