ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक नीति तथा कार्यक्रम पेस गरेका छन्।
बुधबार ग्वार्कोमा बसेको पाँचौं नगरसभाको बैठकमा मेयर चिरीबाबुले आगामी वर्षको नीति तथा कार्यक्रम पेस गरेका हुन्। योसँगै पहिलोपटक महानगरले चक्रपथ बाहिर नगर सभा सञ्चालन समेत गरेको हो।
महानगरले पाटन दरबार क्षेत्रमा 'भेहिकल फ्री जोन' बनाउन प्रयास गर्ने र साइकल र पदयात्रालाई प्रोत्साहन गर्ने नीति लिएको छ।
वि.सं. १९९० सालको भूकम्पपछि पुनर्निर्माण नभएका मन्दिरहरू समेत निर्माण गर्न पहल गर्ने उल्लेख गरेको छ। खोकनामा रहेको नेपालमा सबभन्दा पहिलो बिजुली बलेको घरको संरक्षण तथा व्यवस्थापन गरी पर्यटन प्रवर्द्धनमा आबद्ध गराउने नीति लिएको छ।
हेर्नुहोस् पूरा नीति तथा कार्यक्रमः
यस्तै, महानगर अन्तर्गत सञ्चालित कम्तीमा एक सामुदायिक विद्यालयलाई स्मार्ट विद्यालयका विकास गर्ने नीति लिएको छ भने विभिन्न संघ-संस्थासँग सहकार्य गरी सत्यमोहन जोशी एकेडेमी स्थापना गर्ने बताएको छ।
त्यस्तै, खानेपानीका लागि मेलम्चीमा मात्र भर नपर्ने सिस्नेरी खोलाको पानीलाई ललितपुरमा ल्याउन सम्बन्धित निकायहरूसँग समन्वय गरी गृहकार्य गर्ने बताएको छ।