गोरखा र धादिङका सांसदहरूले बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता हुनुपर्ने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' लाई मंगलबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा भेटेर सांसदहरूले आयोजना निर्माण सुनिश्चित गर्न माग गरेका हुन्।
प्रतिनिधि सभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने गोरखा र धादिङका सांसदहरूले प्रधानमन्त्रीलाई भेटेर आयोजना निर्माण अघि बढाउन माग गरेका हुन्।
‘बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको सुनिश्चितता गर्न प्रधानमन्त्रीज्यूको ध्यानाकर्षण गराएका हौं,’ प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईले भने, ‘आयोजनाको निर्माण सुनिश्चितता, त्यस क्षेत्रका बासिन्दाको पुनर्वास, सडक तथा दूरसञ्चार लगायतमा राज्यले उदासिनता देखाएको छ।’
उनीहरूले १२ सय मेगावाट क्षमताको बूढीगण्डकी आयोजना निर्माण हुन्छ भन्ने विश्वास राज्यका तर्फबाट दिलाइनुपर्ने पनि बताएका थिए।
प्रधानमन्त्री दाहालले बूढीगण्डकी आयोजना निर्माण हुने बताएका छन्।
प्रतिनिधि सभा सांसदहरू बजगाई, रामनाथ अधिकारी, बिना लामा, बुद्धिमान तामाङ, राष्ट्रिय सभा सांसद किरणबाबु श्रेष्ठ र कमला पन्तले बूढीगण्डकी आयोजना सुनिश्चितता माग गर्दै प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षण गराएका हुन्।