प्रतिनिधि सभाको बुधबारको बैठकमा दुई सांसदले स्त्रीद्वेषी अभिव्यक्ति दिएका छन्।
महिलाको मानमर्दन हुने गरी ती सांसदहरूले अभिव्यक्ति दिएका हुन्।
प्रतिनिधि सभामा मन्त्रालयगत बजेटमाथि छलफल गर्ने क्रममा काठमाडौं क्षेत्र नम्बर १० बाट निर्वाचित नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीमाथि रोष प्रकट गरे।
उनले महिला मन्त्री भएकैले आफ्नो क्षेत्रमा रकम खन्याएको र अरूतिर उक्त मन्त्रालयले बजेट नै नपारेको रोष प्रकट गरेका हुन्।
‘महिला मन्त्रालयको सम्बन्धमा अन्याय नै भएको छ, सत्ता पक्षका माननीयज्यू पनि हुनुहुन्छ। तपाईंहरू सन्तुष्ट हुनुहुन्छ कि हुनुहुन्न, मलाई थाहा छैन। मैले सुनसरी मात्रै देख्छु,’ यसो भन्दै उनले मन्त्रालयको बजेटमाथि टिप्पणी सुरू गरेका थिए।
महिला तथा बालबालिका मन्त्रालयले एक अर्ब ६० करोड बजेटमध्ये स्वार्थ बाझिने गरी मन्त्री चौधरीले विनियोजन गरेको उनले आरोप लगाए।
‘हुन त स्वार्थ बाझिने पनि हुन्छ। उहाँ त्यसैमा काम गरेर आउनु भएको होला, उहाँलाई थाहा पनि होला, कहाँकहाँ के गर्दा संगठन बढ्न सक्छ। आफू जित्न सकिन्छ। त्यो उहाँलाई थाहा छ। मेरो क्षेत्रमा एक रुपैयाँ पनि राख्नुभएको छैन,’ उनले रोष पोख्दै भने, ‘उहाँलाई जानकारी गराउने मात्र हो। अनुनय विनय गरे पनि परिवर्तन हुँदैन।’
उनले विश्वमा सबल महिला नेतृत्व भएको बताए। तर हामीकहाँ अपवाद हुन पुग्न दुःखद् भएको टिप्पणी गरे।
‘जहाँजहाँ महिला नेतृत्व छ संसारमा, सक्षम नेतृत्व छ। राष्ट्रपतिको रुपमा होस्, सानो कर्पोरेट हाउसमा होस्, अहिलेसम्म संसारको हेर्ने हो महिलाहरूले गरेको नेतृत्व अत्यन्त राम्रो छ। हामीकहाँ महिलालाई नेतृत्व दिँदाखेरी केवल आफ्नो क्षेत्रलाई मात्रै हेर्ने चलन छ। यो अपवादको रूपमा छ,’ उनले भने।
निजामती सेवामा ८७ हजारमध्ये ३९ प्रतिशत महिला लगेको भन्दै उनले तथ्यांक पनि प्रस्तुत गरे। त्यस्तै स्थानीय तहमा ४० प्रतिशत लगेको उनले बताए।
‘आर्थिक क्रियाकलापमा महिलाहरूलाई कसरी बलियो बनाउन सकिन्छ भनेर सोच्दै गर्दा महिलाहरू आफ्नो क्षेत्रगत, जातिगत, हुँदाखेरी यसले राम्रो सन्देश दिएको छैन। महिला मन्त्रीजीलाई अनुरोध गर्न चाहन्छु। तपाईं कलंकको रूपमा किन उपस्थित हुन चाहनुहुन्छ। सम्भवत पुरुष मन्त्री भएको भए यस्तो हुँदैन थियो होला! कमसेकम सबै नेपालीलाई सम्बोधन गर्ने किसिमले काम गरेको भए राम्रो हुन्थ्यो,’ उनले भने।
अर्का सांसद योगेन्द्र मण्डलले बुधबारकै बैठकमा झनै आपत्तिजनक अभिव्यक्ति दिए। २०७९ को चुनावमा स्वतन्त्र उम्मेदवारी दिएर मोरङ क्षेत्र नम्बर ५ बाट जितेका मण्डलले स्त्रीद्वेषी अभिव्यक्ति दिइँरहँदा कुनै सांसदले प्रतिवाद गरेनन्। केबल हाँसीमात्रै रहे।
विनियोजन विधेयकमाथि बोल्न रोस्टममा पुगेका उनले सन्दीप लामिछाने आइसिसी टि–२० विश्वकप खेल्न अमेरिकाले जान नपाएको प्रसंग निकालेका थिए।
उनले सन्दीप अमेरिका जान नपाउँदा नेपाल खेल तालिकामा अहिलेसम्म एक अंक मात्रै रहेको बताएका थिए।
‘म एउटा कुरा भन्न चाहन्छु- फेरि भोलि सडकमा आन्दोलन होला! होस्!,’ उनले भने, ‘महिला र कानुन मन्त्री, आज म एउटा कुरा भन्न चाहन्छु। आज विश्वकपमा जम्मा एक अंक छ, तीन अंक हुनुपर्थ्यो। नेपाल आठौं चरणमा प्रवेश गर्थ्यो। सोच्नुहोला! कानुन कस्तो बनाउनुभएको छ!’
उनले महिलालाई सम्मान गरेकोमा खुसी पनि व्यक्त गरे। तर वैवाहिक बलात्कारमा महिलाहरूले मुद्दा हाल्न थालेको भन्दै रोष प्रकट गरे।
‘श्रीमानमाथि पनि महिलाले जबरजस्ती करणीको मुद्दा हाल्न पाउँछ। एकदम खुसी छु। त्यो श्रीमान् आफूलाई मन लागेको बेला, आफ्नो इच्छा पूरा गर्न कहाँ जाने ? के गर्ने?,’ उनले भने।
यसो भन्दा सांसदहरू हाँसिरहेको थिए। उनले ती सांसदतिर फर्किएर फेरि भने, ‘नहाँसौं। तपाईं–हामीसँग जोडिएको कुरा हो। काननुसँग जोडिएको कुरा हो, के गर्ने?,’ उनले भने।
उनले यति भनिरहँदा सभामुखको आसनमा बसेकी उपसभामुख इन्दिरा रानाले समय सकिएको बताएकी थिइन्। ‘आजलाई समय सकियो, माननीयज्यू! अब के गर्ने हो विचार गर्नुहोला,’ उनले भने।
यसअघि नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई लक्षित गरेर 'विदेशबाट नेपाल घुम्न आएका बेला मन्त्री भइन्' भन्ने अभिव्यक्ति दिएका थिए।
तर ओलीले चितवन पुगेर त्यो अभिव्यक्ति कसैप्रति पनि लक्षित नभएको दाबी गरेका थिए। तर ओलीको अभिव्यक्ति सार्वजनिक रूपमा आलोचना भएको थियो भने रास्वपा सांसद शिशिर खनालले संसदमै कुरा राखेका थिए।
यो पनि:
शिक्षामन्त्री सुमना श्रेष्ठलक्षित अभिव्यक्तिमा ओलीले दिए प्रष्टीकरण (भिडिओ)
आफू लक्षित टिप्पणीप्रति शिक्षा मन्त्री सुमनाको प्रतिवाद
सुमना श्रेष्ठमाथि निरन्तर स्त्रीद्वेषी प्रहार