नेपाल समाजवादी पार्टी (नेसपा) ले पार्टी स्थापना दिवसमा बुधबार दिउँसो काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा कार्यक्रम गर्यो।
नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राप्रपा, जसपा नेपाल, जसपा, लोसपा लगायत दललाई निम्तो नगरी नयाँ पार्टीहरूलाई कार्यक्रममा निम्तो गरिएको थियो।
अध्यक्ष बाबुराम भट्टराई, रास्वपा सभापति रवि लामिछाने, जनमतका अध्यक्ष सिके राउत, आम जनता पार्टीका अध्यक्ष प्रभु शाह, विवेकशील साझाकी अध्यक्ष समीक्षा बास्कोटा, नाउपाका सल्लाहकार रेशम चौधरीलगायत कार्यक्रममा सहभागी रहे।
नेसपाले आफूलाई वैकल्पिक शक्तिको दाबी गर्दै आएको छ। त्यसैले उसले वैकल्पिक शक्तिका रूपमा २०७९ को चुनावबाट उदायका शक्तिहरूलाई कार्यक्रममा निम्त्याएको थियो।
नेसपाले वैकल्पिक शक्तिहरू मिलेर मोर्चा बनाएर जानुपर्ने मत राख्दै पनि आएको छ।
कार्यक्रममा शुभकामना मन्तव्य दिँदै गृहमन्त्रीसमेत रहेका रास्वपा सभापति रवि लामिछानेले भने मिलेर जाने विषयमा फरक मत राखे।
‘आज पनि हामी नयाँ शक्ति, यहाँ मिल्नुपर्छ, त्यहाँ मिल्नुपर्छ,’ उनले भने, ‘म भन्छु नमिलौं, मिल्नु पर्दैन। आफ्ना विचारका आधारमा उभिऔं, १० वर्ष हेरौं, को कति उभिन सक्ने रहेछ!’
उनले विचार समान हुनेहरू र सत्कर्म गर्नेहरू कुनै एक विन्दुमा पुगेर नमिली सुखै नहुने धारणा पनि राखेका थिए। ‘हाम्रा राजनीतिक आस्था र विश्वास आ-आफ्नै छन्। तर समाजले भोगेको दु:ख अर्कै छ,’ उनले भने।
लामिछानेले नेसपाको कार्यक्रममा भएको जमघटमा 'राता साथीहरू' भएको ठाउँमा आफू अलि 'निलो मानिस' आइपुगेको पनि बताएका थिए। ल लिडर नामक टेलिभिजन कार्यक्रम सुरू गर्नका लागि भट्टराईलाई निर्णायक बनाउन खोजिएको बेलादेखि आफ्नो सम्बन्ध रहेको र त्यही कारण आफू कार्यक्रममा आइपुगेको उनको भनाइ थियो।
साथै उनले पुरानै दलहरूको विधानमा केही हेरफेर गरेर नयाँ दल खोले त्यसबाट ठूलो अपेक्षा गर्न नहुने पनि बताएका थिए। आफ्नो दलले भ्रातृ संस्थाहरू नबनाएको र विज्ञहरूलाई समावेश गरेर पार्टी बनाएको तथा समानुपातिक सांसदमा पनि योग्यता र क्षमता भएकाहरूलाई पठाएको दाबी उनको थियो।
साथै लामिछानेले शीर्ष नेताहरूसँगका भेटमा आफूले भन्ने गरेको एउटा कुरा पनि सुनाएका थिए।
‘मैले शीर्ष नेताहरूलाई भन्ने गरेको छु, तपाईंहरूले कयौं ठेकेदार, कार्यकर्ता र परिवारका सदस्यलाई यतिन्जेल जोगाउनुभयो होला। अब व्यवस्था, संविधान र देश जोजाउनुस्,’ उनले भने।
यसपछि उनले मिलेर जाने विषयमा पार्टी गठनका बेलाका प्रसंग निकाले। मूर्धन्य मानिसहरूसँग मिलेर जाँदा आफ्नो तीन महिना समय खेर गएको उनको भनाइ थियो।
‘राजनीतिक दल सुरू गरेपछि पाँच महिनामा निर्वाचनमा होमिऔं। तीन महिना म यही मिल्ने चक्करमा हिँडे, अलिकति प्रोफाइल भएका, चिनेका मान्छेहरू सँग मिल्न पाए त, हुन त त्यो मेरो अलिअलि टेलिभिजनको लोकप्रियता हो। कयौं मूर्धन्य मानिसहरूसँग मिल्ने भन्दै म गएँ, पत्याए पो, पार्टी सभापति तपाईं नै हो भन्छु ठिक छ, राम्रो गर्दै जानुस् पछि हेरौंला नि भन्नुभयो,’ पुराना कुरा सम्झँदै उनले भने।
उनले मिल्ने चक्करमा नहिँडेको भए अर्को २० सिट जितिने दाबी पनि गरेका थिए। मिल्ने भन्ने कुरा बसेर छलफल गर्दै गरौंला भन्छन्। यो मिल्ने कुरा मेरो अनुभव मीठो छैन,’ भट्टराईलाई लक्षित गर्दै उनले भने।
साथै उनले विगतमा आफूले भट्टराईलाई पढाउनतिर लाग्न सुझाव दिएको पनि बताए।
‘उहाँलाई पढाउनुस् भनेको थिएँ। तर राजनीतिक किरा भएको मानिसलाई राजनीतिबाट पर जाऊँ भनेको के राम्रो लाग्थ्यो र!,’ उनले भने, ‘राजनीतिमा निरन्तर रूपमा लागिरहनुस्।’
भट्टराई जनमोर्चा, एकता केन्द्र मसाल, माओवादी, नयाँ शक्ति, जसपा हुँदै नेसपामा आइपुगेका हुन्। यति लामो राजनीतिक यात्रा गरेका भट्टराईले नेसपालाई वैकल्पिक शक्तिका रूपमा अर्थ्याउँदै नयाँ दलका नेताहरूलाई राखेर बुधबार कार्यक्रम गरेका हुन्।
यो पनि:
वैकल्पिक शक्तिहरू आउनुपर्छ: भट्टराई
मूर्धन्यहरूसँग मिल्ने चक्करमा तीन महिना नहिँडेको भए अर्को २० सिट जित्थेँ: रवि लामिछाने
केही पनि भएन भन्नेलाई सन्देश भन्दै गृहमन्त्री लामिछानेले भने- मधेसमा जनमत, संघमा रास्वपा सरकारमा छ
नेपाल समाजवादी पार्टीले स्थापना दिवसमा बोलाएन पुराना पार्टीहरूलाई