नेपाली कांग्रेसको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बसेको छ।
बैठकमा सभापति शेरबहादुर देउवासहित पदाधिकारी, केन्द्रीय सदस्यहरू, प्रतिनिधि सभा सांसदहरू र राष्ट्रिय सभा सांसदहरू सहभागी छन्।
समसामयिक राजनीतिक घटनाक्रम, सदनमा कांग्रेसले उठान गर्दै आएको सहकारी प्रकरणमा संसदीय छानबिन र पार्टीका आन्तरिक विषयमाथि छलफल गरी धारणा बनाउन बैठक बसेको हो।
कांग्रेसभित्र केन्द्रीय सदस्य र संघीय सांसदको संयुक्त बैठक माग भइरहेको थियो। कांग्रेसले पछिल्लो समय पदाधिकारी, केन्द्रीय कार्यसम्पादन र लगातार जस्तो संसदीय दल कार्यसमिति र संसदीय दल बैठक मात्रै गरिरहेको थियो।
सहकारीको बचत अपचलनमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गर्दै आएको छ।
प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सहित सत्ता पक्षका नेताहरू पनि संसदीय छानबिन समिति गठनमा सहमत भए पनि यसको कार्यादेशबारे सत्ता र प्रमुख प्रतिपक्षी कांग्रेसबीच सहमति नहुँदा संसदीय छानबिन समिति गठन भएको छैन।
सत्ता पक्षले पेलेरै सदन चलाएको भन्दै प्रतिपक्षी कांग्रेसभित्र असन्तुष्टि पनि छ। साथै सहकारी प्रकरणलाई सरकारले गम्भीर रूपमा नलिएको भन्दै सदनबाट आवाज र सडकबाट आन्दोलन गरिनुपर्ने माग पनि कांग्रेसभित्र छ।
तस्बिरहरू: