नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले विश्वासको मत लिएका छन्।
सोमबार बसेको प्रतिनिधि सभा दोस्रो बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रतिपक्षी दलहरूको घेराबन्दी र नाराबाजीका बीचबाटै विश्वासको मत लिएका हुन्।
सोमबार मतदानमा १५८ जना सहभागी रहे। प्रधानमन्त्री दाहाललाई एक सय ५७ सांसदले मत दिएका छन्। विश्वास मत दिन्न भन्नेमा एक मत परेको सभामुख देवराज घिमिरेले बताए।
प्रधानमन्त्री दाहाललाई सत्तारूढ नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदहरूले मत दिएका थिए।
प्रधानमन्त्रीले विश्वासको मत लिइरहँदा विपक्षी सांसदहरूले जबरजस्ती गर्न पाइँदैन, सरकारको जबरजस्ती बन्द गर जस्ता नारा लगाएका थिए। प्रतिनिधि सभा बैठक मंगलबार बिहान ११ बजेसम्मका लागि स्थगित भएको छ।
नाराबाजीकै बीचमा विश्वासको मत मागेका प्रधामन्त्री प्रचण्डले आफूले विश्वासको मत लिइरहँदा नाराबाजी र अवरोध गरेर कांग्रेसले ठूलो गल्ती गरेको बताएका थिए।
तस्बिरहरू: