प्रारम्भिक बालविकास शिक्षा (इसिडी) सुधार गर्नुपर्ने माग राख्दै बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले प्रदर्शन गरेको छ।
काठमाडौंको माइतीघर मण्डलमा आइतबार समाजवादी पार्टीले इसिडी शिक्षा सुधारको मागसहित प्रदर्शन गरेको हो।
प्रदर्शनमा नेता मानुषी यमी भट्टराई, नेपाल समाजवादी विद्यार्थी युनियनका अध्यक्ष नेत्र चापागाईं लगायतले प्रदर्शन गरेका छन्। गत जेठ २ गते चापागाईं माइतीघर मण्डलमा उभिएर एकल प्रदर्शन पनि गरेका थिए।
उनीहरूले 'ताराबाजी लैलै इसिडीमा सुधार खै?, गुणस्तरीय शिक्षाको आधार, इसिडी शिक्षामा सुधार, शिक्षामन्त्रीज्यू इसिडी सुधारका लागि हामी उभिइरहेका छौं' लगायत प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।
शिक्षा क्षेत्रमा आगामी वर्ष सरकारले झन् बजेट कम गर्न लागेको भन्दै उनीहरूले त्यसो नगर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठलाई आग्रह गरेका छन्।
मन्त्री श्रेष्ठ समाजवादीले गरेको प्रदर्शनस्थलमै पुगेकी थिइन्।
नेपाल समाजवादी विद्यार्थी युनियनले प्रारम्भिक बाल विकास शिक्षा राम्रो दिन नसके विद्यालय र विश्वविद्यालय शिक्षा पनि राम्रो बनाउन नसकिने बताउँदै आएको छ।
सरकारले सामुदायिक विद्यालयमा सञ्चालनमा ल्याएको इसिडी एक तहको रहेको तर निजी विद्यालयलाई चार तहको मान्यता दिने गरेको उनले बताएका छन्। इसिडी कम्तीमा तीन तहको बनाउन सरकारलाई समाजवादीको सुझाव छ।
इसिडी शिक्षकहरूलाई बालमनोविज्ञान, केयरगिभर र मन्टेश्वरीसम्बन्धी तालीम दिन पनि सरकारसँग समाजवादीले माग गरेको छ।
तस्बिरहरू: