प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले विपक्षी दलहरूसँग छलफल गर्ने भएको छ।
संघीय संसद नयाँ बानेश्वरको ल्होत्से हलमा शुक्रबार बिहान संसदीय दल बैठक बसेको छ। यो बैठकपछि कांग्रेसले सदनमा रहेका विपक्षी दलहरूसँग छलफल गर्न लागेको हो।
शुक्रबार बिहान ११ बजे प्रतिनिधि सभा र दिउँसो १ बजेर १५ मिनेटमा राष्ट्रिय सभा बैठक बस्दैछ। उक्त बैठकअघि कांग्रेसले विपक्षी दलहरूसँग संयुक्त छलफल गर्न लागेको हो।
कांग्रेस प्रमुख सचेतक रमेश लेखकका स्वकीय सचिव जनक भट्टका अनुसार विपक्षी दलहरूलाई छलफलका लागि टेलिफोन गरेर बोलाइएको छ।
कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी, जनता समाजवादी पार्टी नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चालाई छलफलका लागि बोलाएको छ।
बिहीबार साँझ बसेको प्रतिनिधि सभा बैठकमा कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै नाराबाजी गरेको थियो। त्यसबेला सभामुख देवराज घिमिरेले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढ्न थालेपछि सदनमा रहेका विपक्षी दलका सांसदहरू पनि उठेर विरोध गरेका थिए।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। तर सत्ता पक्ष यसमा तयार देखिएको छैन।
संसदीय छानबिन समिति गठन नगरेसम्म कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभामा अवरोध जारी राख्ने बताएको छ।
यो पनि: प्रतिनिधि सभा बैठकमा कसरी भयो धकेलाधकेलको स्थिति?