प्रतिनिधि सभा बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस र नेकपा (एमाले) का सांसदहरूबीच धकेलाधकेल भयो।
प्रतिनिधि सभाको बैठक सुरू हुनेबित्तिकै कांग्रेसका सांसदहरूले सहकारीको बचत अपचलनबारे छानबिन गर्न संसदीय समिति बनाउन भन्दै नाराबाजी सुरू गरे।सभामुख देवराज घिमिरेले कांग्रेसको अवरोधकै बीच सभाको कामकारबाही अगाडि बढाएका थिए।
कांग्रेसका सांसदहरू वेल घेराउ गरिरहेका थिए। तर सभामुख घिमिरेले राष्ट्रपति कार्यालयबाट आएको पत्र वाचन गरेर सुनाए। पहिलो पत्र वाचन गरेपछि उनी केहीबेर रोकिएका थिए। दोस्रो पत्र वाचन गर्नेबित्तिकै भने सभामुख घिमिरेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिए।
त्यसपछि धकेलाधकेल सुरू भयो। हात हालाहालको स्थिति आएपछि गृहमन्त्री आफ्नै आसनमा रोकिए। त्यसपछि सभामुख घिमिरेले संसद्को बैठक शुक्रबार बिहान ११ बजेसम्मलाई स्थगित गरेको घोषणा गरेका थिए।
एमाले सांसद ठाकुर गैरले कांग्रेस उपसभापति समेत रहेका धनराज गुरूङले उपसभामुख इन्दिरा रानाको आसनमा उभिएको बताए।
‘सभामुखज्यूले गृहमन्त्रीलाई बोल्न दिनुभयो। त्यसपछि उपसभामुख उठेर गृहमन्त्रीलाई बाटो छोडिदिनुभयो। तर नाराबाजी गरिरहेका सांसद धनराज गुरूङ आएर बाटो छेक्न खोज्नुभयो,’ गैरेले सेतोपाटीसँग भने, ‘त्यसक्रममा पार्टी अध्यक्ष केपी ओलीले त्यहाँ तपाईं आउन मिल्दैन। उपसभामुखको आसनमा नउभिनूहोस्। आफ्नै रोमा गएर नाराबाजी गर्नुहोस् भन्दा औंला ठड्याउनुभयो।’
सांसद गुरूङले उपसभामुखको आसनमा उभिएर मर्यादा उल्लंघन गरेको पनि उनले बताए।
‘उपसभामुखको आसनमा उभिएर बाटो नछेक्नुहोस् भनेर अध्यक्षले सम्झाउनुभएको हो,’ सांसद गैरेले भने।
यी पनि:
कांग्रेसका धनराजले औंला उठाएर के भनेका थिए संसदमा?
सभामुखले गृहमन्त्रीलाई बोल्न समय दिएपछि प्रतिनिधि सभामा कांग्रेस-एमाले सांसदबीच धकेलाधकेल (भिडिओ/तस्बिरहरू)