सदनमा देखिएको गतिरोध अन्त्य गर्न सभामुख देवराज घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले पहल थालेका छन्।
प्रधानमन्त्री दाहालले बालुवाटारमा बिहीबार बिहान सत्तारूढ नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र रास्वपा सभापतिसमेत रहेका गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका हुन्।
यसैबीच सभामुख घिमिरेले प्रधानमन्त्री दाहालसँग टेलिफोनमा कुराकानी गरेका छन्। उनले सदनको गतिरोध अन्त्य गर्न आग्रह गरेका छन्।
प्रधानमन्त्री दाहालले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेताहरूसँग पनि अनौपचारिक कुराकानी गर्ने भएका छन्।
प्रतिनिधि सभा बैठक बिहीबार बिहान ११ बजे र राष्ट्रिय सभा बैठक दिउँसो १ बजेर १५ मिनेटमा बस्ने गरी बोलाइएको थियो। सदनको गतिरोध हल गर्नका लागि सभामुख र प्रधानमन्त्रीले पहल थालेसँगै प्रतिनिधि सभा बैठक पनि सार्ने तयारी छ।
सहकारी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै आएको छ। कांग्रेसले जेठ १ गते प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरोध गरेको थियो। सदनमा कांग्रेस र एमाले आमनेसामने हुने र मुठभेडतर्फ जाने पनि देखिएको छ।
सभामुख घिमिरे र उपसभामुख इन्दिरा रानाले कानुन मन्त्री पदम गिरीसहित सत्ता र प्रतिपक्षी दलका प्रमुख सचेतक तथा सचेतकसँग बिहीबार छलफल पनि गरेका छन्।
उक्त छलफलपछि कांग्रेस सचेतक सुशीला थिङले सहमति प्रयास भएकै हुनाले प्रतिनिधि सभा बैठक बस्न ढिला भएको बताइन्।
‘सहमतिका लागि प्रयास भइरहेकोजस्तो देखिन्छ, त्यसैले प्रतिनिधि सभा बैठक बस्न पनि ढिलाइ भएको छ,’ उनले भनिन्।
संघीय संसदका प्रवक्ता एकराम गिरीले दलका प्रमुख सचेतक र सचेतकहरूसँग छलफल गरेर बैठक सार्न लागिएको बताए। सूचना टाँसेर बिहीबार अपराह्न ४ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक सार्न लागिएको छ।
बिहीबार बिहान काठमाडौंमा प्रजातान्त्रिक विचार समाजले गरेको कार्यक्रममा कांग्रेस नेता शेखर कोइरालाले गृहमन्त्री लामिछानेलाई सदनमा बोल्न नदिने नभनिएको पनि बताएका थिए।
सदनमा गृहमन्त्रीलाई बोल्न दिने र संसदीय छानबिन समिति गठन गर्नेमा दलहरू समझदारीमा पुग्न सक्ने नेताहरूको आकलन छ।
गृहमन्त्री लामिछानेले आफूमाथि आरोप लागेकोले सदनमै बोल्न पाउनुपर्ने र त्यसमाथि चित्त नबुझे कांग्रेसले प्रश्न उठाउन सक्ने बताउँदै आएका छन्।