सत्तारूढ नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलाले संसदीय छानबिन समितिका नाममा नेपाली कांग्रेसले सरकार मागेको दाबी गरेका छन्।
सभामुख देवराज घिमिरेले सिंहदरबारमा राखेको बैठकपछि पत्रकारहरूसँग बोल्दै बर्तौलाले प्रमुख प्रतिपक्षीले उठाएको विषय कानूनसम्मत नरहेको बताए।
‘समितिका नाममा सरकार माग्ने प्रमुख प्रतिपक्षीको मुद्दा सम्बोधन हुने म देख्दिनँ, यो सम्भव छैन,’ उनले भने।
उनले जेठ १ गते अपराह्न ३ बजे सभामुखले नभई राष्ट्रपतिले संघीय संसद बैठक बोलाएको पनि बताए। ‘व्यवस्थित ढंगले त्यस दिन सरकारका नीति तथा कार्यक्रम प्रस्तुत हुन्छ,’ उनले भने।
उनले सहकारी ठगी गर्नेहरूमाथि सरकारले उच्च गतिमा कारबाही गर्नुपर्ने पनि बताए।
उनले सांसदहरू कानून बनाउन संसदमा आएको भन्दै अनुसन्धान अधिकारीजस्तो गरी विभिन्न समितिमा राख्न नहुने तर्क गरेका थिए।