जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठले अध्यक्ष उपेन्द्र यादवले एकलौटी ढंगबाट पार्टी चलाउन खोजेपछि निकास खोज्नुपरेको प्रतिक्रिया दिएका छन्।
अशोक राई नेतृत्वमा आइतबार अपराह्न निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता गर्न निवेदन दिएपछि श्रेष्ठले पत्रकारहरूसँग भने, ‘हठात् हामी यो निष्कर्षमा पुगेका होइनौं, पार्टीमा समस्या थियो। सदस्यता वितरणमा व्यापक धाँधली भयो। पार्टी कमिटीका बैठकहरू रित पुर्याउने प्रयोजनका लागि मात्रै भयो। हामीले निकास खोजेकै हौं, पार्टी विभाजन हुन गयो।’
नेता श्रेष्ठले नयाँ दर्ता गर्न लागिएको दलले यही सरकारको निरन्तरता चाहेको पनि बताए।
‘हामी यही सरकारको निरन्तरताको पक्षमा छौं, मन्त्री हटाउने, राख्ने अधिकार प्रधानमन्त्रीकै हो। हामी यही गठबन्धनको पक्षमा छौं,’ उनले भने।
आइतबार सांसदहरू अशोककुमार राई, प्रदीप यादव, नवलकिशोर साह, वीरेन्द्र महतो, रञ्जु ठाकुर, हसिना खान, सुशीला श्रेष्ठले नयाँ दल दर्ताका लागि निवेदन दिएका छन्।
उनीहरूले जनता समाजवादी पार्टी नाममा नयाँ पार्टी दर्ता गर्न आयोगमा निवेदन दिएका छन्। पहिलेको पार्टीको नाम जनता समाजवादी पार्टी नेपाल रहेको बताएका छन्।
जसपाका १८ जना कार्यकारिणी समिति सदस्यमध्ये अशोक राईसहित यो समूहमा राजेन्द्र श्रेष्ठ, मोहम्मद इस्तियाक राई, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठ रणध्वज कान्दङ्वा, रेणु यादव नवलकिशोर साह सुडीलगायत छन्।