नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले अहिले नेपालको अर्थतन्त्र लयमा नभएको बताएका छन्। पाण्डेले देशको वर्तमान अवस्थामा अर्थतन्त्रको लक्षण राम्रो नदेखिएको बताएका हुन्।
नेकपा (एमाले) धादिङ–काठमाडौं सम्पर्क मञ्चले आज स्वयम्भुमा आयोजना गरेको कार्यक्रममा बोल्दै पाण्डेले अर्थतन्त्रलाई सकारात्मक गति दिन विभिन्न चुनौती देखिएका बताए। अहिले बजार अर्थतन्त्रको रुपमा रहेको जनसंख्या वृद्धिदर घट्नु र युवा जनशक्ति पलायन हुनुले अर्थतन्त्रमा ठूलो असर पार्ने उनको भनाइ छ।
जनसंख्या कम भएपछि बजारको आकार स्वाभाविक रुपले खुम्चने भन्दै उपाध्यक्ष पाण्डेले वस्तु तथा सेवाको लागि बजार अनिवार्य रहेको र बजारका लागि जनसंख्याले अर्थ राख्ने बताए। उनले बजार कम भएसँगै अर्थतन्त्रमा पनि संकुचन आउने बताए।
प्रविधिको विकाससँगै उपलब्ध रोजगारीमा कटौती भएकाले श्रम बजारमा पनि जनशक्तिको ठाउँ मेसिन तथा प्रविधिले लिँदै गएको उनले बताए। प्रविधिको विकाससँगै त्यसको ज्ञान र पहुँच बढाउन नसकिए अर्थतन्त्रमा त्यसबाट हुनसक्ने योगदानबाट वञ्चित हुने अवस्था रहेको पाण्डेको भनाइ छ।
मुलुकको अहिलेको अवस्थामा अनुसार अब हरेक पार्टी कमिटीहरू चल्नुपर्ने पनि पाण्डेको भनाइ छ।