रूपन्देहीको सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
इलाका प्रहरी कार्यालय बुटवलले अनुसन्धान गरी २८ जनालाई प्रतिवादी बनाएको छ। जसमध्ये ८ जनामात्रै पक्राउ परेका छन्।
सहकारीका ८ हजारभन्दा बढी बचतकर्ताको ९६ करोड रूपैयाँ हिनामिना गरेको आरोपमा प्रतिवादी बनाइएका छन्, पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेशकुमार पुन।
पुन उक्त सहकारीका तत्कालीन सचिव समेत रहेको अनुसन्धानबाट खुलेको छ। सचिव रहँदा उनले ३ लाख रूपैयाँ पेस्की लिएको भन्ने सरकारी वकिलको अभियोगपत्रमा उल्लेख छ।
यद्यपि पुनले त्यसबारे इन्कारी बयान दिएका छन्। उक्त सहकारीको सचिव आफू इच्छाले नभएको जिकिर गरेका छन्।
बाल्यकालदेखि नै आफू राजनीतिक र सामाजिक क्षेत्रमा लागेको बताउँदै संविधान बनेपछि आर्थिक नीतिबारे अध्ययन गरेको पुनको भनाइ छ। यसरी अध्ययन गरेपछि आर्थिक जीवनस्तर वृद्धि गर्नका लागि सहकारीले सहयोग पुर्याउन सक्छ भन्ने खालका धारणा विभिन्न ठाउँमा राखेपछि उनलाई सुप्रिम सहकारीको साधारण सभामा अतिथिको रूपमा निम्त्याइएको पुनले बताएका छन्।
‘सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो। उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ। उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरु सहकारी विभागका आधिकारीक प्रतिनिधिहरु, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरु तथा पत्रकारहरू र सरोकारवालाहरु उपस्थित हुनु हुन्थ्यो,’ उनले बयानमा भनेका छन्।
यसरी उपस्थित भएको कार्यक्रममा मन्तव्य राख्दा आफ्नो प्रशंसासमेत भएको पुनले बताएका छन्।
त्यसदिन आफ्नो कार्यतालिकाअनुसार अन्य ठाउँमा पनि जानुपर्ने भएकाले कार्यक्रम समापन नै नभइ बाहिरिएको उनले बताएका छन्।
निस्किने बेलामा आफूलाई कसैले माइन्युटमा हस्ताक्षर गर्न लगाएको बयानमा उल्लेख छ। उनले त्यस माइन्युटमा अतिथिको रूपमा हस्ताक्षर गरेको र हिनामिना नगरेको बताएका हुन्।
‘म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा र अतिथिको रूपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितिको रजिष्टरमा हस्ताक्षार गरेकोसम्म मलाई याद छ अन्य कुराहरू मलाई याद भएन,’ उनले भनेका छन्।
त्यस कार्यक्रमको दुई महिनापछि भने उक्त सहकारीका संस्थाका संरक्षक एवं पूर्व अध्यक्ष गितेन्द्रबाबु राई (जिबी)ले आफूलाई सचिवमा राख्न सिफारिस गरेको पनि पुनले बताएका छन्। सिफारिस गरेअनुसार नै पुनलाई सचिवमा नियुक्त गरेको भन्दै उनलाई फोनमार्फत् जानकारी गराइएको थियो।
यसबारेमा उनले पछि जिबी राई सहितसँग भेट्न खोज्दा भेट नभएको पनि पुनले बताएका छन्।
पछि आफ्नो नाम सचिवमा राखेर सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको थाहा पाएपछि भने आफूले साथीहरूसँग सल्लाह गरी राजीनामा दिएको उनको भनाइ छ।
कानुनले नमिल्ने भएकाले आफूले २०७६ साल फागुनमा राजीनामा बुझाएको उनले बताएका हुन्।
‘मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईं रूपन्देही स्थायी बासिन्दा पनि होइन र तपाईं कानूनत: रूपन्देहीमा रहेको सहकारीमा संचालक समिति हुन मिल्दैन भन्ने कुरा भएपश्चात् मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्थाप्रति कानूनी र आर्थिक दायित्व नहुने गरी राजिनामा बुझाएको हुँ ,’ बयानमा उल्लेख छ।
त्यस्तै उनले ३ लाख रूपैयाँ पेस्कीको भौचरमा बुझिलिनेको दस्तखत आफ्नो नभएको पनि दाबी गरेका छन्।
‘मैले सहकारी संस्थाबाट पेस्की रकम ३ लाख रूपैयाँ लिएको होइन, उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन। पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेशकुमार पुन भएको हुँदा नाम समेत फरक छ। मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन। मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन र कुनै रकम मेलै लिएको पनि छैन,’ उनले भनेका छन्।
यस्तो छ उनको बयान:
म बाल्यकालदेखि नै राजनीतिक र सामाजिक क्षेत्रमा व्यस्त र सक्रिय रहँदै आएको छु, देशमा राजनीतिक परिवर्तन सगै २०७२ सालमा बनेको संविधानमा देशको तीन खम्बे आर्थिक नीति (सरकार, सहकारी र निजी क्षेत्र) को बारेमा अध्ययन गरेको थिएँ। सोही क्रममा सहकारीप्रति मैले अध्ययन गरेको जाने बुझेसम्म सकारात्मक रूपमा आत्मसाथ गर्दै नेपालको न्यून आर्थिक अवस्था वा कमजोर आय भएका ग्रामिण क्षेत्रमा छरिएर रहेका व्यक्तिहरूको आर्थिक जीवनस्तर वृद्धि गर्दै जनतालाई आत्मनिर्भर उद्यमशील बनाउँदै आर्थिक र सामाजिक परिवर्तनको लागि सहकारीले सहयोग पुऱ्याउन सक्छ, यसको लागि सहकारी अभियानलाई अगाडि बढाउनुपर्छ यसको लागि हामी जस्ता राजनीतिक, सामाजिक कार्यमा सक्रिय युवाहरूले प्रत्यक्ष, अप्रत्यक्ष रूपमा राम्रो सहकारी अभियानलाई साथ दिनुपर्छ भन्ने सकारात्मक धारणा रहँदै आएको थियो।
यसै क्रममा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा मलाई युवा राजनीतिज्ञ, सामाजिक व्यक्तिको रूपमा अतिथिको रूपमा बोलाइएको थियो। उक्त कार्यक्रममा मैले सहकारीप्रति मेरो यही सकारात्मक धारणा अनुसार स्वीकार गरी सोही अनुसार अतिथिको तर्फबाट साधारण सभामा म पनि उपस्थित थिएँ भने उक्त सहकारीको कार्यक्रममा प्रदेशका मन्त्री, जनप्रतिनिधिहरू, सरकारका अधिकारी जिम्मेवार व्यक्तिहरू सहकारी विभागका आधिकारीक प्रतिनिधिहरू, सामाजिक व्यक्तित्व, बुद्धिजिवीहरू तथा पत्रकारहरू उपस्थित हुनुहुन्थ्यो।
उपस्थित वक्ताहरूले सहकारीको बारेमा प्रस्तुत गरेको कुराहरूलाई मुक्तकण्ठले प्रशंसा गरेका थिए भने मैले पनि अतिथिको रूपमा उपस्थित भएपश्चात् सहकारीको बारेमा मैले जाने बुझेसम्मको सकारात्मक धारणा नै प्रस्तुत गरेको थिएँ, म अन्य कार्यक्रममा उपस्थित हुनको लागि कार्यक्रम समापन नहुँदै बिदा भई निस्कने अनुरोध गरेकोमा मलाई अतिथिहरूको उपस्थितिको माइन्युट रजिष्टरमा हस्ताक्षार गरी निस्कन अनुरोध गरेकोले मलाई उपलब्ध गराइएको अतिथिको उपस्थित रजिष्टरमा हस्ताक्षत गरी म बिदा भई निस्केको हुँ। मैले उक्त सहकारीको रकम हिनामिना गरेको छैन, म एक राजनीतिक र सामाजिक व्यक्तित्व भएको हुँदा अतिथिको रूपमा निमन्त्रणा गरेको हुँदा म सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको साधारण सभामा अतिथिको हैसियमा उपस्थित भई आफ्नो मन्तव्य दिई उपस्थितिको रजिष्टरमा हस्ताक्षार गरेको सम्म मलाई याद छ अन्य कुराहरू मलाई याद भएन।
सचिवको वा अन्य के कसोमा हस्ताक्षार देखिएको हो मलाई याद भएन। कार्यक्रम सकिएको करिब २ महिनापछि संस्थाका कार्यकारीले मलाई फोन गरी तपाईंको आफ्नो प्रदेश र प्रदेशको राजधानी पनि भएको ठाउँ तपाईंको आफन्तहरू पनि बुटवलमा धेरै भएको हुँदा बुटवलमा संचालित सुप्रिम बचत तथा ऋण सहकारी सस्था धेरै राम्रो र बुटवलकै स्थापित सहकारी सबैको आकर्षण रूपमा रहेको यस संस्थाका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबाबु राई (जिबी राई) ले तपाईंलाई सचिवको रूपमा राखिदिनु भन्ने सिफारिसको आधारमा तपाईंलाई सचिवमा राखेका छौँ भन्ने जानकारी गराएका थिए।
मैले गितेन्द्र बाबु राई, अन्य परिवार र साथीभाईहरूसँग सल्लाह गरी खबर गरौंला भनेको थिएँ, उक्त खबर पाए पश्चात मैले गितेन्द्रबाबु राई सँग यो विषयमा कुरा गर्नको लागि धेरै पटक सम्पर्क र भेट गर्न खोज्दा भेट हुन सकेन र मैले सहकारी दर्ता अधिकारीको कार्यालयमा मेरो नाममा सचिवको रूपमा नाम राखी पठाएका छन् भन्ने जानकारी पाएपश्चात् मैले परिवार र साथी भाइहरूसँग सल्लाह गर्दा मलाई सबैले तपाईं राजनीतिक र सामाजिक कार्यमा सक्रिय हुने व्यक्ति भएको हुँदा तपाईं रुपन्देही स्थायी बासिन्दा पनि होइन र तपाईं कानूनत: रूपन्देहीमा रहेको सहकारीमा संचालक समिति हुन मिल्दैन भन्ने कुरा भएपश्चात् मैले २०७६ साल फागुन महिनामा मेरो कुनै संस्थाप्रति कानुनी र आर्थिक दायित्व नहुने गरी राजीनामा बुझाएको हुँ मैले राजीनामा बुझाएको केही महिनापछि कोभिड-१९ को कारणले गर्दा उक्त संस्थाका जिम्मेवार व्यक्तिहरूसँग भौतिक भेट हुन सकेन। कोभिड-१९ को बीचमा संस्थाका कार्यकारीसँग फोन गरी बुझ्दा तपाईंको राजीनामा भइसकेको छ। कोभिड-१९ को कारणले गर्दा संचालक र कर्मचारीसँग भौतिक भेट भएको छैन तपाईंको राजीनामा जुन दिन साधारण सभा हुन्छ सोही दिन तपाईंले राजीनामा दिएको मितिदेखि नै स्वीकृत हुने गरी अनुमोदन हुन्छ। तपाईंको यसमा कुनै पनि आर्थिक र कानुनी दायित्व हुँदैन र राजीनामा अनुमोदन जानकारी सहकारी विभागलाई दिन्छौं। तपाईंले सचिव भई कुनै पनि निर्णय गर्नु भएको पनि छैन र तपाईं सुप्रिम बचत तथा ऋण सहकारी संस्थामा उपस्थित भई काम पनि गर्नु भएको छैन। पिर नगर्नु होस भनेका थिए।
सोपश्चात् मैले यस संस्थाप्रति मेरो कुनै जानकारी र चासो राखिनँ, पछि मेरो राजीनामा साधारण सभाले अनुमोदन गरी सहकारी दर्ता अधिकारीको कार्यालयमा पठाएको भन्ने जानकारी गराएका थिए, मैले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट पेस्की रकम तीन लाख लिएको होइन, उक्त पेस्की भौचरमा बुझिलिनेमा भएको दस्तखत मेरो होइन भने पेस्की भौचरमा भएको नाम दिपेश पुन रहेको र मेरो नाम दिपेश कुमार पुन भएको हुँदा नाम समेत फरक छ।
मेलै कुनै सेयर लगानी गरी बचत तथा ऋण खाता समेत खोलेको होइन। मेरो नामको खातामा देखिएको रकमको बारेमा मलाई जानकारीसम्म छैन र कुनै रकम मेलै लिएको पनि छैन।
यस संस्थाबाट मैले अन्य कुनै रकम लिने दिने गरी साक्षी सिफारिस, कारोबर तथा निर्णय गरेको छैन र यस संस्थाबाट ऋण लगानी भएका कुनै व्यक्ति तथा कम्पनीहरूसँग म व्यापारिक साझेदार समेत छैन भन्ने समेत व्यहोराको प्रतिवादी दिपेशकुमार पुनको बयान।