नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले सुदूरपश्चिम मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने सहमतिबाट सत्ता घटकका प्रमुख दुई दल पछि हटेको बताएका छन्।
उनले आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफद्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पुरानो सहमतिबाट पछि हटेको बताए।
यसअघि पटक-पटक भएका बैठकमा प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीले सुदूरपश्चिम मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने भनेर सहमति जनाएकोमा आइतबार कुरा फेरेको भूसालको भनाइ छ।
‘यसअघि ओलीजी, प्रचण्डजी र माधव नेपालजीका बीचमा भएको छलफलमा हामीलाई मुख्यमन्त्री दिने सहमति भएको थियो। तर आज बिहान उहाँहरूले कुरा फेर्नुभयो,’ भूसालले सेतोपाटीसँग भने, ‘त्यसपछि हामीले हामी पुरानो सहमति कायम हुनुपर्नेमा दृढ छौं, तपाईंहरूको निर्णय के हो भन्नुहोला भनेर निस्केका थियौं, उहाँहरूको खबर आएको छैन।’
उनले सुदूरपश्चिम प्रदेशमा कांग्रेसहितको गठबन्धनमा एकीकृत समाजवादी पनि सहभागी भएर मुख्यमन्त्रीमा नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेकोबारे आफूहरूलाई थाहा नभएको प्रतिक्रिया दिए।
‘सुदूपश्चिममा के-के भइरहेको छ, सञ्चारमाध्यममा आएका समाचार हेरिरहेका छौं। त्यहाँ भइरहेको घटनाक्रमबारे हामीलाई औपचारिकरूपमा थाहा छैन,’ उनले भने।
सुदूरपश्चिममा नाउपाका दुई सांसदले फरक-फरक गठबन्धनबाट मुख्यमन्त्रीमा दाबी पेस गरेका छन्।
चार सांसद रहेको एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घ सोडारीले भने कांग्रेससहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी गरेका लक्ष्मणकिशोर चौधरीको पक्षमा हस्ताक्षर गरेका छन्।
यो पनि:
सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाकै कैलाश चौधरीले पनि गरे दाबी पेस
प्रदेश प्रमुखलाई भेटेर सुदूरपश्चिम मुख्यमन्त्रीमा नाउपाका चौधरीले गरे दाबी पेस