सत्तारूढ नेकपा (एमाले) का सांसद सूर्य थापाले एक जना पनि सहकारीको बचतकर्ता ठगिन नहुने बताएका छन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा बोल्दै थापाले सरकार र संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ सहकारीका बचतकर्ता नठगिने सुनिश्चितता गर्नुपर्ने बताए।
‘सहकारीका बचतकर्ता ठगिन हुन्न। उनीहरू नठगिने सुनिश्चितता सरकार र यो संसदले निकायहरूलाई निर्देशन दिएर हुन्छ कि कानून बनाएर हुन्छ के गरेर हुन्छ हामीले गर्नुपर्छ। यो हैसियत संसदले राख्नुपर्छ,’ उनले भने, ‘हामीले त्यसो गर्न सकेनौं भने यो सहकारीका सन्दर्भमा सत्ता गठबन्धनमा भ्वाङ पार्ने कोसिसअन्तर्गत उठाइएको एउटा अरन्य रोदन हुनेछ। यो अरन्य रोदनले देशलाई केही परिणाम दिने छैन।’
उनले सहकारीको विषय व्यक्तिकेन्द्रिय विषय नभएको दाबी गरेका थिए।
‘बचतकर्ताको बचतलाई सुरक्षित र फिर्ता पाउने प्रत्याभूति गर्ने, सँगसँगै सहकारीमार्फत् भएको लगानी सुरक्षित गर्ने र त्यहाँ भएका अपचलन र बदमासीलाई कारबाही गर्ने मुख्य विषय हो,’ उनले भने, ‘यसमा समाधान खोज्नुपर्छ। यो व्यक्तिकेन्द्रित विषय भने होइन।’