गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बुधबार बिहान पदबाट राजीनामा दिएका छन्।
बहुमत पुग्ने नदेखेपछि उनले राजीनामा दिएका हुन्। ६० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ३१ जना सांसदको साथ चाहिन्छ।
नेकपा (माओवादी केन्द्र) ले समर्थन फिर्ता लिएपछि पाण्डे नेतृत्वको सरकार अल्पमतमा परेको थियो। उनले बिहीबारसम्म प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने थियो।
राजीनामा दिएपछि पाण्डेले पत्रकारहरूसँग कुराकानी गर्दै आजैबाट नयाँ सरकार बनाउने प्रक्रिया सुरू हुने बताए।
गण्डकीमा मुख्यमन्त्रीले विश्वास मत पाउन राष्ट्रिय प्रजातन्त्र पार्टीको साथ चाहिने उनको भनाइ छ।
‘गण्डकीमा सरकार बनाउनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीले महत्व राख्छ। तर राप्रपा चैत २७ गतेसम्म आन्दोलनको चरणमा छ, आन्दोलनको चरणमा हुँदा सरकार बनाउने, भत्काउने चरणमा लाग्दैनौँ भनेपछि मैले संसदमा विश्वासको मत लिनुपर्छ भन्ने आवश्यकता नै ठानिनँ,’ उनले भने, ‘राप्रपाको साथ र निर्णय नभएसम्म कसैले पनि बहुमत पुर्याउन सक्दैन।’
गण्डकीमा कांग्रेस २७ सांसदसहित ठूलो दल हो। एमालेका २२, माओवादीका सभामुखसहित ८, राप्रपाका २ र नेकपा (एकीकृत समाजवादी) का १ जना सांसद छन्।