जनमत पार्टीले प्रतिनिधि सभा सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन सभामुख देवराज घिमिरेलाई पत्र पठाएको छ।
जनमतले सांसद सापकोटालाई स्पष्टीकरण सोधेर कारबाही स्वरूप पार्टीबाट निस्कासन गरेको व्यहोरा उल्लेख गर्दै गत फागुन २७ गते संघीय संसद सचिवालयमा पत्राचार गरेको पाइएको छ।
जनमत पार्टीले पठाएको पत्र प्राप्त भएको संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले सेतोपाटीलाई बताए। 'जनमतले पठाएको पत्र प्राप्त भएको छ, सभामुखज्यूले अध्ययन गर्दै हुनुहुन्छ। १५ दिनभित्र उहाँले निर्णय दिनुहुन्छ,' उनले भने।
सांसद सापकोटाले भने आफूले दिएको भनिएको स्पष्टीकरणसमेत नक्कली रहेको उल्लेख गर्दै सभामुख घिमिरेलाई आफ्नो पद जोगाइदिन आग्रह गरेकी छन्।
'उहाँले सभामुखसँग दुई/तीन पटक भेट गर्नुभएको छ। उहाँले जुन स्पष्टीकरण मैले दिएँ भनेर भनिएको छ, त्यो दस्तखत नै मेरो होइन भनेर सभामुखलाई भन्नुभएको छ। जनमत पार्टीले सांसदलाई कारबाही गर्न आवश्यक राजनीतिक दल सम्बन्धी ऐनको सबै प्रक्रिया पूरा गरेको देखिन्छ,' स्रोतले भन्यो।
महोत्तरीको महोत्तरी गाउँपालिका वडा नम्बर ३ की सापकोटालाई जनमत पार्टीले समानुपातिकतर्फबाट सांसद बनाएको थियो।
सांसद सापकोटाले भने स्वकीय सचिव राख्ने विषयमा पार्टीसँग मतभेद भएको र सोही कारण आफूलाई कारबाही गरिएको बताइन्।
'विवाद केही थिएन, सुरूआतदेखि नै उहाँले (सिके राउतले) तपाईं आफैँले स्वकीय सचिव राख्न मिल्दैन भन्नुभएको थियो', सापकोटाले भनिन्, 'पार्टीकै अर्को कोही राख्नुहोस् भन्नुभएको थियो। हामीले भनेको स्वकीय सचिव राख्नुपर्छ भनेर कुरा उठाउनु भएको थियो। त्यतिबेला विवाद भएपछि तपाईंलाई कारबाही गर्छौं, पदबाट निकाल्छौँ भन्ने धम्की दिइएको थियो।'
सापकोटाले सुरूआतमा पार्टीकै समीरकुमार झालाई स्वकीय सचिव राखेकी थिइन्। त्यसपछि पार्टीको सिफारिसमा अशोक साहलाई स्वकीय बनाएकी थिइन्। अशोक साह सम्पर्कमा नआएपछि मानसी झालाई उनले स्वकीय बनाएकी थिइन्।
आफूले पार्टीले भनेकै व्यक्तिलाई स्वकीय सचिव राखेको भए पनि सो व्यक्ति कहिल्यै पनि आफूसँग सम्पर्कमा नआएको र सहयोग पनि नगरेको उनले बताइन्।
'एकपटक पार्टीले भनेकै मान्छे राखेको थिएँ, त्यसपछि मैले मेरो स्वास्थ्य र सुरक्षाका लागि स्वकीय फेरेर गाउँकै क्याम्पस पढ्ने एक जना बहिनीलाई सहयोगी राखेँ, अहिले मलाई नसोधी संसद सचिवालयमा सांसद पद खारेज गरिदिनु भनेर चिठी पठाउनु भएको रहेछ', सापकोटाले भनिन्, 'न केही भनेको छ, न केही गरेको छ। आफ्नो मनले केन्द्रीय समिति र कार्यकारिणी समितिको निर्णय भनिएको छ। आफ्नै मनले सबै गरिराखेका छन्। छलफल केही भएको छैन।'
उनले आफूलाई पार्टीले किन कारबाही सिफारिस गर्यो भन्ने विषयमा जानकारी नभएको बताइन्।
'अरू कसैले उहाँ (सिके राउत) लाई फाइदाका लागि केही भनेको छ कि!', सापकोटाले आशंका व्यक्त गर्दै भनिन्, 'मबाट फाइदा लिइहाले, अब अर्कोबाट लिन खोजेको हो कि!'
जनमतका सचिव विपी साहले सांसद सापकोटाले पार्टीको अनुशासन उल्लंघन गरेकाले उनलाई कारबाही गरेको बताए।
'उहाँलाई कारबाही गरेको पत्र नै हामीले दुई पटक संसद सचिवालयमा पठाइसक्यौँ। एक महिना अघि पनि पत्र पठाएका थियौँ। त्यो कारबाहीको पत्र थियो। यसपटक साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको पत्र पठाएका छौँ', साहले भने, 'उहाँको अनुशासनको समस्या हो।'