अल्पमतमा परेका सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टीबाट तीन जना मन्त्री नियुक्त गरेका छन्।
मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिका संसदीय दलका नेता घनश्याम चौधरीलाई आर्थिक मामिला मन्त्री, खुसीराम चौधरीलाई बिनाविभागीय मन्त्री र इन्दिरा गिरीलाई भूमि व्यवस्था राज्यमन्त्रीको जिम्मेवारी दिएका छन्।
नवनियुक्त मन्त्रीहरूलाई शुक्रबार राति प्रदेश प्रमुख देवराज जाेशीले शपथ खुवाएका छन्।
नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका शाह माओवादी र एकीकृत समाजवादी पार्टीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका छन्।
मुख्ममन्त्री शाह मन्त्रिमण्डलमा नागरिक उन्मुक्तिसँगै स्वतन्त्र सांसद तारा जोशी र राष्ट्रिय प्रजातन्त्र पार्टीकी खेमादेवी विष्टलाई पनि समावेश गर्ने तयारीमा छन्।
जाेशी र विष्टले साथ दिए प्रदेशमा कांग्रेस नेतृत्वकाे सरकार नै कायम रहने छ।