नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई नेकपा (एमाले) को काँधबाट झार्नतिर नलाग्ने बताएका छन्।
बूढानिलकण्ठमा मंगलबार अपराह्न केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि पत्रकारहरूको प्रश्नमा जवाफ दिँदै उपसभापति गुरूङले कांग्रेस र एमाले मिल्ने सम्भावना नरहेको दाबी गरेका हुन्।
एमालेसँग मिलेर कांग्रेसले सरकार बनाउने सम्भावना पनि छ, यसबारे पार्टीमा छलफल भएको छ कि छैन भन्ने प्रश्नमा जवाफ दिँदै उपसभापति गुरूङले भने, ‘अहिले भर्खर त प्रचण्डजी हाम्रो काँधबाट एमालेको काँधमा चढ्नुभएको छ। फेरि उहाँलाई काँधबाट झारे एमाले र हामी मिलौं भन्ने कुरा त भएन। यो नैतिकताले पनि दिँदैन। हामी त्यस्तो अनैतिक काम गर्दैनौं।’
कांग्रेसले २०७९ पुस २६ गते कार्यसम्पादन समिति बैठक गरेर प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिने निर्णय गरेको थियो।
उपसभापति गुरूङले अब कांग्रेस प्रतिपक्षमा बस्ने पनि बताए। ‘सत्ताको चलखेलमा अब नलागौं भन्ने कुरा भएको छ,’ उनले भने।
समयको मागअनुसार यसअघि प्रचण्डलाई काँध थापेको उनले बताएका थिए।