नेकपा (माओवादी केन्द्र) का स्थायी कमिटी सदस्यहरूले राष्ट्रिय सभाको अध्यक्ष पद पार्टीले छोडन नहुने धारणा राखेका छन्।
मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेका पार्टी स्थायी कमिटी बैठकमा अधिकांश नेताहरूले राष्ट्रिय सभा निर्वाचनमा बारे आ-आफनो समीक्षा गर्दै राष्ट्रिय सभा अध्यक्ष पद पार्टीले छाडनु नहुने मत राखेका हुन्।
राष्ट्रिय सभा अध्यक्षमा कांग्रेसले नेता कृष्ण सिटौलालाई उठाउने बताइरहेको छ। तर माओवादी स्थायी कमिटी सदस्यहरूले भने सो पद पार्टीले छोड्न नहुने मत राखेको पार्टीका उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
त्यसैगरी बैठकमा पार्टी नेताहरूको कार्य विभाजन, भावी योजना लगायतका विषयमा पनि छलफल भए पनि निर्णय भने नभएको प्रवक्ता सापकोटाले बताए।
माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि पनि बोलाइएको छ ।