नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले त्रिभुवन विश्वविद्यालय उपकुलपति नियुक्ति प्रक्रियामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झुक्याएको आरोप लगाए।
सोमबार न्युज एजेन्सी नेपालसँगको कुराकानी गर्दै महामन्त्री थापाले विश्वविद्यालय सुधारका लागि प्रधानमन्त्रीसँग आफूले ६ पटकभन्दा बढी भेटेर योग्य मानिस नियुक्त गर्न आग्रह गरेको समेत बताए।
‘यो भन्दा पहिला पनि योग्यता पुगेकै मान्छे बनाएको हो, नियत ठीक नराखेको हो। अहिले खुला प्रतिस्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो। जसकारण परिणाम एउटै आउने भयो। झुक्याइयो। अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला। तर, उहाँ आफैँ झुक्किइरहनु भएको छ। मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु हो,’ उनले भने।
उनले विश्वविद्यालयहरूको अवस्था बिजोग रहेको बताए।
विश्वविद्यालयको नेतृत्व चयनदेखि यसको पठनपाठन लगायतका थुप्रै विषयमा सुधार गर्नुपर्ने ठाउँ रहेको बताए।
‘अब संसदमा केही समयपछि उच्च शिक्षालाई हेर्ने विधेयक आउँछ। त्यसमा काम गरिसकेपछि यसको प्रबन्ध हुन्छ। तर यो कानुन बन्न अझै पनि कम्तिमा एक–डेढ वर्ष लाग्छ। यहाँ समस्या के भयो भने त्यो कानुन बन्नु भन्दा पहिला नै त्रिभुवन विश्वविद्यालय लगायत सबै विश्वविद्यालयहरूको नेतृत्व रिक्त भयो। अब हामी अहिले कानुन एक वर्षपछि बनाउँला। तर अहिले आएको नेतृत्वले त ५ वर्ष काम गर्दछ। अर्को ४ दखि ५ वर्ष विश्वविद्यालय पहिलाको जस्तै अस्तव्यस्त हुन्छ,’ उनले भने।
त्यसो हुँदा आफूले प्रधानमन्त्रीलाई भेटेर र विभिन्न माध्यमबाट सुधारको काम गर्न आग्रह गरेको बताए।
‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति सही चयन गरिदिनूस्। यस्तो व्यक्ति चयन गरिदिनूस् कि, त्यो नेतृत्व चयन भएको नेतृत्वलाई हेरेर अरू विश्वविद्यालयको सुधारको नयाँ अध्याय प्रारम्भ भयो भन्ने सबैलाई एउटा विश्वासको वातावरण बनोस्। यो बीचमा अनि कानुन बनाएर ठीक बनाउँला। त्रिभुवन विश्वविद्यालयको नेतृत्व ठीक आयो भने बाँकी रहेको नेतृत्व ठीक आइहाल्छ। प्रधानमन्त्रीले यसलाई सकारात्मक रूपमा लिनुभयो र पटक–पटक संकल्प पनि गर्नुभयो। अस्ति बीचमा प्रक्रिया अलिकति बिग्रियो भनेर उहाँले सच्याउने निर्देशन पनि दिनुभयो। तर अहिले नामहरू हतारहतार सिफारिस गरेर ल्याइएको छ,’ उनले भने।
अहिलेको सिफारिस र नियुक्ति प्रक्रिया भागबण्डामै लगेर टुंग्याउने निधो स्पष्ट भएको उनले बताए।
‘फेरि यसलाई भागबण्डामा लगेर टुंग्याउने करिब निधोमा पुग्नुभयो। मलाई उदेक लागेको कुरा जताततै हामी भाषण गर्छौं। सबैकुरा बिग्रियो, भत्कियो भन्ने। सच्याउने मौका पनि हामी पाउँछौं। यही विश्वविद्यालयको सन्दर्भमा। म कांग्रेसको महामन्त्री र सांसद पनि हुँ। हामी सबैजना प्रधानमन्त्रीलाई वातावरण बन्दियोस्, हामी जहिल्यै भाग माग्नुपर्ने हो। भागबण्डा नगरौं, रोकौं भनेर वातावरण बनाइरहेका छौं। यत्रो वातावरण बनेको बेलामा, यस्तो उच्च शिक्षामा बेथिति भएको यो बेलामा पनि अधिकारको प्रयोग नगर्ने?,’ उनले प्रश्न गरे।
उनले अहिले पनि सबैकुरा बिग्रिइनसकेकाले प्रधानमन्त्रीले नयाँ प्रक्रिया थालनी गर्न सक्ने बताए।
यसो नगर्ने हो भने प्रधानमन्त्रीले विश्वविद्यालय राम्रो बनाउँछु भन्नु्को तुक नहुने पनि बताए।
‘यतिखेर विश्वविद्यालय नियुक्तिका सन्दर्भमा प्रक्रिया सतहमा मिलेको देखिए पनि जे अपेक्षा गरिएको थियो, त्यो अपेक्षाअनुरूप भएको छैन। त्यसकारण विश्वविद्यालयको कसले नेतृत्व गर्ने भन्नेकुरा म यसरी भागबण्डा गर्दिनँ, म नेतृत्व चयन ठीक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ। अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ। यो अधिकार कानुनले दिएको छ। अझै पनि उहाँको गर्ने इच्छाशक्ति छ भने यो विन्दुबाट पनि उहाँले सच्याउन सक्नुहुन्छ। सच्याउनु भएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्यो भन्ने कुराको कुनै पनि तुक रहँदैन,’ उनले भने।