फागुन ७ देखि १० गतेसम्म हुने महासमिति बैठकमा पेश गरिने प्रस्तावबारे सुझाव लिन सानेपामा नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बसेको छ।
बिहीबारदेखि सुरू बैठक शुक्रबार पनि चल्यो। उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक र अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रस्ताव केन्द्रीय समितिमा पेश गरेका छन्।
यी प्रस्तावमा केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
यसै क्रममा समसायिक राजनीतिक घटनाक्रमबारे पनि केन्द्रीय सदस्यहरूले धारणा राखेका छन्।
केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले कांग्रेससँगको सहकार्य लाभदायक नभएको अभिव्यक्ति दिएकोमा पार्टीको धारणा माग नै गरेका छन्।
शुक्रबार केन्द्रीय समितिमा बोल्दै शिवाकोटीले भने, ‘नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाली कांग्रेससँगको गठबन्धनका बारेमा टिप्पणी गर्नुभएको छ। उहाँको केन्द्रीय समिति बैटकमा। खासगरी माओवादीका कार्यकर्ताभन्दा पनि चर्को कुरा गरेर प्रचण्डले आफ्नो अभिव्यक्ति दिनुभएको छ, यसबारेमा हाम्रो धारणा के हो?
उनले प्रचण्डका अभिव्यक्तिमा सभापति शेरबहादुर देउवा र प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा कांग्रेसबाट नेतृत्व गरेर गएका उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काको ध्यानाकर्षण गराएका छन्।
‘महासमितिमा यसबारे कांग्रेसले छलफल गरोस् भनेर प्रधानमन्त्री प्रचण्डले यस्तो अभिव्यक्ति दिएको हो कि के हो,’ उनले भने, ‘यसका बारेमा हाम्रो महासमितिमा पेश गर्ने औपचारिक धारणा के हो?’
के भनेका थिए प्रधानमन्त्री प्रचण्डले?
नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नेपाली कांग्रेससँगको सहकार्य लाभदायक नभएको बताएका थिए।
गत माघ ११ गते भएको राष्ट्रिय सभा चुनावमा कोशी प्रदेशमा माओवादी उम्मेदवार चम्पादेवी कार्की पराजित भएको प्रसंग निकाल्दै उनले कांग्रेससँगको सहकार्य माओवादीका लागि लाभदायक नभएको बताएका हुन्।
‘राष्ट्रिय सभा चुनावमा कोशीमा माओवादी उम्मेदवार हार्ने, नेकपा (एमाले) का उम्मेदवारले जित्ने दुर्भाग्यपूर्ण अवस्था आयो,’ गत माघ २९ गते केन्द्रीय कमिटी बैठकमा बोल्दै प्रचण्डले भनेका थिए, ‘कोशीमा पहिले हामीले सभामुख छाडियो, पछि मुख्यमन्त्री पनि छाड्नपर्यो। राष्ट्रिय सभामा पनि हराइयो। यसले कांग्रेससँग हाम्रो सहकार्य लाभदायक छैन भन्नेतिर हामी पुग्नुपर्ने देखियो।’
राष्ट्रिय सभा चुनावमा १९ सिटमा सत्ता गठबन्धनले भागबन्डा गरी साझा उम्मेदवार उठाएका थिए। सत्ता गठबन्धनका १८ उम्मेदवार विजयी हुँदा कोशीमा माओवादीकी कार्की पराजित भएकी थिइन्। कोशीमा कांग्रेसले धोका दिएको माओवादीको दाबी छ।
‘अहिले हामीलाई प्रधानमन्त्री पनि कांग्रेसले बनाएको त होइन,’ दाहालले भनेका थिए, ‘कांग्रेससँगको सहकार्यबारे गम्भीरतापूर्वक विचार गर्नपर्ने भएको छ। तर यसको अर्थ अहिले नै गठबन्धन तोड्ने भन्ने त होइन।’